दिल्लीमा बढ्यो उच्च वायु प्रदूषण, १५ औँ स्थानमा नेपाल

एजेन्सी

शुक्रबार, १९ कार्तिक २०७८, १२ : १४
दिल्लीमा बढ्यो उच्च वायु प्रदूषण, १५ औँ स्थानमा नेपाल

काठमाडौँ । मौसम सुख्खा हुन थालेसँगै वायु प्रदूषण बढ्दै गएको छ । भारतको राजधानी नयाँ दिल्ली शहर विश्वमै वायु प्रदूषणका हिसाबले १ नम्बरमा रहेको छ ।

बिहीबार रातिदेखि नै दिल्लीमा तुँवालो लागेको र धुवाँधुलोका कारण प्रदूषण उच्च भएको बताइएको छ । त्यहाँ वायुको गुणस्तर खराब हुँदै एयर क्वालिटी इन्डेक्स एक्यूआई शुक्रबार बिहान ४७३ सम्म पुगेको थियो । अहिले घाम लागेसँगै अलि घटेर यो स्तार ४२८ मा झरेको छ ।

दिपावलीमा भारतभर नै प्रदूषण बढी हुने गरेको छ । पटाका पड्काउने, आतिसबाजी गर्ने लगायत कार्यले त्यहाँको वायु प्रदूषण दीपावलीका बेला उच्च भएको हो । दिल्लीका अतिरिक्त भारतका धेरै ठाउँमा अहिले प्रदूषण बढेको छ ।

यो समाचार तयार गर्दा विश्वको दोस्रो वायु प्रदूषित शहर पाकिस्तानको लाहोर रहेको छ । त्यसको एक्यूआई ३१६ रहेको छ । त्यसपछि बेइजिङ तेस्रो नम्बरमा रहेको छ । नेपालको राजधानी काठमाडौँ भने अहिले वायु प्रदूषणका हिसाबले १२७ एक्यूआईसहित १५ औँ स्थानमा रहेको छ ।