एमालेले गुमायो संघदेखि प्रदेशसम्मका सबै सरकार

सफल खबर संवाददाता

सोमबार, १५ कार्तिक २०७८, १९ : ३९
एमालेले गुमायो संघदेखि प्रदेशसम्मका सबै सरकार

काठमाडौँ । माओवादीसँगको गठबन्धनबाट करिब दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेको नेकपा एमालेले अन्ततः संघ र प्रदेशका सबै सरकार गुमाएको छ। एमालेलाई सरकारबाट हटाउन त्यही पार्टीबाट विद्रोह गरेको नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले भूमिका खेलेका छ। एमालेलाई सडकमा पुर्‍याउने निर्णायक काम नेपाली कांग्रेसले गर्‍यो।

असार २८ मा संघीय सरकारबाट हटेपछि सुरु भएको एमालेको सत्ता बर्हिगमन कात्तिक १५ गते प्रदेश १ सम्म आइपुग्दा करिब टुंगिएको छ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको सोमबार आएको राजीनामासँगै अब एमाले संघ र प्रदेश तहका सबै सरकारबाट प्रतिपक्षमा पुगेको छ।
तत्कालीन नेकपा विभाजित भएपछि सुरु भएको सत्ता बहिर्गमनको श्रृंखला सकिएर सातै प्रदेशमा एमाले प्रतिपक्षमा पुगेको हो। 

तत्कालीन प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ गते पहिलो पटक प्रतिनिधिसभा विघटन गरेपछि सुरु भएको फुटको श्रृंखलाले एमालेलाई सत्ताबाट निकालेको हो। प्रतिनिधि सभा विघटनको विवाद चलिरहँदा २०७७ फागुन २३ गते नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि एमालेले सत्ता गुमाउन थालेको थियो। 

माधवकुमार नेपालले यही भदौ १ गते विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाएपछि बागमती र प्रदेश १ सरकार एमालेले गुमाएको थियो। 
त्यसअघि उनले २०७८ वैशाख २६ मा राजीनामा दिएका थिए। उनले त्यसबेला प्रतिपक्षीले राखेको अविश्वासको प्रस्तावमाथि छलफल हुनु एक दिनअघि राजीनामा दिएका थिए। 

त्यसबेला नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदहरूले मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। राजीनामा दिएपछि उनी प्रदेश २ को ठूलो दलको नेताका रुपमा मुख्यमन्त्री भएका थिए। तर उनले विश्वासको मत प्रमाणित गर्न नसकेपछि २०७८ जेठ २९ गते गण्डकी प्रदेश सरकारबाट बाहिरिनुपरेको थियो। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत गुमाएपछि नेपाली कांग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन भएको थियो।

गठबन्धनबाट कांग्रेसका गण्डकी प्रदेश सभा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ गते मुख्यमन्त्री बने। त्यसको एक महिनापछि असार २८ गते संघीय सरकारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले बाहिरिनु पर्यो। दोस्रो पटक गरेको संसद् विघटनलाई उल्ट्याउँदै सर्वोच्च अदालतले असार २८ गते कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परामादेश दियो। 

त्यसपछि ओली सत्ताबाट बाहिरिएर ओली बालकोट पुगे भने असार २९ मा देउवा प्रधानमन्त्री भए। ओलीलाई हटाएपछि केन्द्रमा गठबन्धन बनाएका पाँच दलले सातै प्रदेशमा भागबण्डा गरेर सत्ता चलाउने समझदारी गरे। त्यही समझदारी अनुसार लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका कुलप्रसाद केसी २०७८ साउन २८ गते मुख्यमन्त्री बने। 

जहाँ ओलीका एकजना विश्वासपात्र शंकर पोखरेल मुख्यमन्त्री थिए। उनले पनि बहुमत सिद्ध गर्न नसकेपछि २०७८ साउन २६ गते सत्ताबाट बाहिरिनुपरेको थियो। त्यसपछि त्यहाँ पनि विपक्षी गठबन्धनका कुलप्रसाद केसी साउन २८ गते मुख्यमन्त्री भएर सत्ता सम्हालिरहेका छन्। झण्डै दुइतिहाई जनमतसहित २०७४ फागुन ३ गते संघीय सरकारको नेतृत्व गरेका एमाले अध्यक्ष ओलीले पूरा कार्यकाल सत्ता चलाउनै नपाई बिदा हुनुपरेको थियो । 

२०७७ पुस ५ गते र २०७८ जेठ ८ गते गरी दुईपटक गरिएको संसद विघटनले ओलीले संघीय सरकार मात्रै होइन प्रदेश १, बागमती, लुम्बिनी र गण्डकी गरी चारवटै सरकार गुमाए। २०७४ मंसिरमा भएको प्रदेश र संघीय संसदको निर्वाचनमा माओवादी केन्द्रसँग कार्यगत एकता गरेपछि दुई पार्टीले संघीय संसदमा १ सय ७४ र प्रदेश तहमा ३ सय ५२ सदस्य जितेका थिए। त्यही आधारमा संघदेखि प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा नेकपाको बहुमतको सरकार थियो। अहिले सबै सरकार एमालले गुमाएको छ । 

प्रतिक्रिया दिनुहोस