आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

एजेन्सी

मंगलबार, ०९ कार्तिक २०७८, १४ : ४५
आर्यन ड्रग्स केसमा अरु तीनजना ‘स्टार किड’ को नाम

काठमाडौं । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान संलग्न लागुऔषध मुद्दामा नार्कोटिक कन्ट्रोल ब्युरो (एनसिबी) ले नयाँ नयाँ तथ्यहरू फेला परिरहेको जनाएको छ ।

३ अक्टोबरमा मुम्बईस्थित कार्डेलिया द इम्प्रेस क्रुजमा आयोजित ड्रग्स पार्टीमा आर्यनसहित अन्य आठजना पक्राउ गरेको थिए । त्यसपछि प्रहरीले आर्यनसँग सम्बन्धित अन्य व्यक्तिलाई सोधपुछ गरिरहेको छ । सोही क्रममा प्रहरीले आर्यनको फोनमा अभिनेता चंकी पाण्डेकी छोरी अनन्या पाण्डेसँग ड्रग्स व्यवस्था गर्ने बारेमा च्याट भएको फेला पारेको थियो ।

प्रहरी अधिकारीले अनन्यासँग दुई दिनसम्म करिब ६ घन्टा सोधपुछ गरेका थिए । अनन्यासँग सोधपुछ गर्ने क्रममा ड्रग्स सेवन र सप्लाइको बारेमा बलिउडका अन्य तीनजना स्टार किडको समेत नाम आएको बताइएको छ । तर उनीहरू को–को हुन्, त्यो भने खुलाइएको छैन । 

आर्यन र अनन्याबीच ड्रग्सको व्यवस्था गर्नेबारे पटकपटक च्याट भएको पाइएको छ । आर्यनले अनन्यालाई कोकिन र चरेश व्यवस्था गर्न लगाउँथे । प्रहरीले सोमबार अनन्यासँग तेस्रोपटक सोधपुछका लागि बोलाएको थियो । तर उनी व्यक्तिगत कारण देखाउँदै उपस्थित भइनन् । उनीसँग प्रहरीले लागुऔषध सप्लायर्सको रूपमा सोधपुछ गरिरहेको बताइन्छ । 

आर्यनले अनन्याबाहेक अरु मान्छेहरूसँग पनि ड्रग्सको बारेमा कुरा गरेको च्याट प्रहरीले प्राप्त गरेको छ । उनले उचितकुमार नामक व्यक्तिसँग ८० हजार भारुको लागुऔषध खरिद गर्ने कुरा गरेको भारतीय मिडियाले जनाएका छन् । आर्यन तीन सातादेखि आर्थर रोड जेलमा कैद छन् । मंगलबार हाई कोर्टमा उनको जमानतको बारेमा सुनुवाइ हुँदैछ । 
 

प्रतिक्रिया दिनुहोस