मन्त्री आलेको निर्देशनपछि सुदूर पहाडमा उडान

सफल खबर संवाददाता

शुक्रबार, ०५ कार्तिक २०७८, १७ : ५२
मन्त्री आलेको निर्देशनपछि सुदूर पहाडमा उडान

काठमाडौँ । नेपाल वायुसेवा निगमले सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा निगमले आइतबारदेखि उडान सुरु गर्ने भएको हो । 

बेमौसमी वर्षात्सँगै आएको बाढी पहिराले त्यहाँका पहाडी जिल्लाका राजमार्ग अवरुद्ध भएका कारण यातायात सेवा पनि बन्द भएकाले मन्त्री आलेले नागरिकलाई सहजरुपमा सेवा दिने उद्देश्यले वायुसेवा निगमका जहाज सञ्चालन गर्न निर्देशन दिएका हुन् । मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ, बाजुरा र डोटीमा नेपाल वायुसेवा निगमले कैलालीको धनगढीबाट नियमितरुपमा हवाइ सेवा सञ्चालन गर्ने तयारी गरेको वायुसेवा निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बताए

उनले भने, “बाजुरामा हाम्रो जहाज सञ्चालन थियो अब मन्त्रीको निर्देशनपछि बझाङ, बजुरा र डोटीमा नियमित हवाइ उडान सञ्चालन हुनेछ ।” वर्षात्का कारण बाढी, पहिराले राजमार्ग अवरुद्ध हुँदा त्यहाँका नागरिकलाई यातयात सेवाका लागि निकै सास्ती हुँदै आएको छ । बाढी, पहिराले गरेको क्षतिका बारेमा निरीक्षण तथा अवलोकनका लागि सुदूरपश्चिम पुग्नुभएका मन्त्री आलेलाई त्यहाँका नागरिकले बाढी, पहिराले बाटाघाटा र सडक अवरुद्ध हुँदा समस्या भएको र जहाज सञ्चालनका लागि आग्रह गरेपछि उहाँले सुदूरपश्चिमका पहाडी जिल्लामा नियमित उडान गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएका हुन् ।

मन्त्री आलेको निर्देशनपछि सुदूरपश्चिमका पहाडी जिल्लामा आइतबारदेखि कैलालीको धनगढी विमानस्थलबाट जहाज चलाउनका लागि सम्पूर्ण तयारी पूरा भएको नेपाल वायुसेवा निगमले जनाएको छ । 


 

प्रतिक्रिया दिनुहोस