बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

सफल खबर संवाददाता

बुधबार, ०३ कार्तिक २०७८, १६ : ०७
बाढीपहिरोले पूर्ण क्षति भएको घर बनाउन सरकारले ५० हजार रुपैयाँ दिने

काठमाडौं । सरकारले बाढीपहिरोले पूर्ण क्षति पुर्याएका परिवारलाई अस्थायी घर बनाउन ५० हजार रुपैयाँ राहत दिने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण समितिको बैठकले घरमा पूर्ण क्षति भएको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको कार्यकारी प्रमुख अनिल पोखरेलले जानकारी दिए ।

अहिलेसम्म २० वटा घरमा पूर्ण क्षति भएको र अन्य विवरण आउन बाँकी रहेको उनको भनाइ छ । बैठकले जलवायु परिवर्तनका असरले नेपालमा बेमौसमी असर भोग्नुपरेको निष्कर्ष निकाल्दै तत्काल राहत, उद्धार र पुनःस्थापनाका लागि देशव्यापी रुपमा खटिने निर्णय गरेको पनि प्रमुख पोखरेलले बताए ।

यस्तै, देशभर भएको धानको क्षतिको विवरण संकलन गर्ने जिम्मेवारी कृषि मन्त्रालयलाई दिने र सोही विवरणका आधारमा राहतको व्यवस्था गरिने भएको छ । सञ्चार, राजमार्ग, खानेपानी, विद्युत्को आपूर्ति तत्काल सुचालु गर्न जनशक्ति खटाउने निर्णय पनि बैठकले गरेको छ । अहिले देशभरका १५ राजमार्ग अवरुद्ध छ ।

नेपाली सेनाको साथै निजी क्षेत्रको हेलिकप्टर प्रयोग गर्दै उद्धार कार्य जारी राखेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा नेपाली सेनाका दुईवटा हेलिकप्टरले उद्धार जारी राखेको छ भने निजी क्षेत्रको हेलिकप्टर पनि प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । यस्तै, पछिल्लो चार दिनमा १९ जिल्लामा ५२ जनाको मृत्यु भएको पनि पोखरेलले जानकारी दिए ।