वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्छ : मन्त्री झाँक्री

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १६ : ००
वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्छ : मन्त्री झाँक्री

पाल्पा। शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारले भ्रष्ट्राचार र कुशासनविरुद्ध काम गर्ने बताइन् । नेपाल पत्रकार महासंघ पाल्पाले सोमबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । 

उनले भनिन्, ‘विगतमा पनि भ्रष्ट्राचार र गलत शासनका बिरुद्ध लड्दै आएकाले सरकारले जवाफदेहीता, पारदर्शीता र भ्रष्ट्राचार बिरुद्धको शून्य सहनशिलतालाई प्राथमिकतामा राखेर काम गर्छु।’

उनले ओली एक्लै हिँडने प्रयास गर्दा नेकपा एमालेमा विद्रोह र भत्किने प्रक्रिया शुरु भएको बताइन् । ‘नयाँ संविधान कार्यान्वयन गरेर मुलुकलाई आर्थिक, सामाजिक रुपान्तरण गर्ने मौका उहाँमा थियो । त्यो मौकामा आफ्नै बहुमतको सरकार थियो’ उनले भनिन्, ‘सामान्य समन्वय नगरेर एक्लै हिँडने जुन प्रयास गर्नुभयो, र सुशासन होइन्, कुशासन दिने जुन प्रयास गर्नुभयो त्यसैबाट बिद्रोह र भत्किने प्रक्रिया शुरु भएको हो ।’

आफूहरु अलग पार्टीमा बस्ने अवस्थाको कारक केपी ओली रहेको उनको भनाइ थियो । ओलीतर्फ इंकित गर्दै उनले अगाडि भनिन्, ‘उहाँले पार्टीलाई सही ढंगले चलाउनुभएन् । राज्यसत्ता सही ढंगले चलाउनुभएन् । जवाफदेहीता दिनुभएन् । हावाका गफ गर्नुभयो ।’

केपी ओलीले आधार बिनाका हावादारी गफ गरेर समय खेर फालेको उनले आरोप लगाइन् । उनले अहिलेको परिस्थिति निर्माणको सह-उत्पादक नै केपी ओली रहेको आरोप लगाइन् ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्री झाँक्रीले इमानदार प्रयास गर्ने हो भने केही हुने र आफूले मन्त्री हुँदा सोही अनुसार पहलकदमी लिनेमा उनको जोड थियो।
 

प्रतिक्रिया दिनुहोस