दार्चुलामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

सफल खबर संवाददाता

सोमबार, ०१ कार्तिक २०७८, १२ : २०
दार्चुलामा स्रोत नखुलेको रकमसहित एक जना पक्राउ

धनगढी । दार्चुलामा विदेशी मुद्रा र स्रोत नखुलेको रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले महाकाली नगरपालिकाको बाङ्गाबगर क्षेत्रबाट दार्चुलाको दुहु गाउँपालिका–१ पिपलचौरी बस्ने ३० वर्षीय तेजबहादुर बमलाई पक्राउ गरेको हो । उनलाई असोज २९ गते पक्राउ गरेको जानकारी प्रहरीले दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोहरप्रसाद भट्टले शंकाको आधारमा बममाथि चेकजाँच गर्दा अवैध विदेशी मुद्रा र स्रोत नखुलेको रकम बरामद भएको जानकारी दिए ।

उनकाअनुसार थापाको साथबाट दुई लाख ४६ हजार पाँच सय नेपाली रुपैयाँ, ४९ हजार नौ सय ५० भारतीय रुपैयाँ, दुई थान मलेसियन रिङ्गेट, एक हजारको एक थान इराकी डिनार, एक थान चिनियाँ युआन बरामद भएको छ ।

उनीविरुद्ध विदेशी विनिमय अपचलन शिर्षकमा मुद्दा दर्ता गरेर थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाइएको प्रहरी नायब उपरीक्षक भट्टले जानकारी दिए ।