काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारसँग भएका पूर्वसहमति कार्यान्वयन गर्दै विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गरेको छ।
महासंघले शिक्षक तथा विद्यालय कर्मचारीका विविध समस्या समाधान हुने गरी कानुनी व्यवस्था यथाशीघ्र अघि बढाउन सरकारको ध्यानाकर्षण गराएको हो।
बिहीबार जारी विज्ञप्तिमा महासंघले स्थायी, अस्थायी तथा विभिन्न प्रकारका करारमा कार्यरत शिक्षकहरू (जसमा राहत, साबिक उमावि, शिक्षण सिकाइ अनुदान, बालकक्षा तथा विशेष शिक्षा क्षेत्रका जनशक्ति समेत समेटिन्छन्) का समस्या सम्बोधन हुने गरी अग्रगामी शिक्षा ऐन चालु अधिवेशनमै पारित गर्न आग्रह गरेको छ।
महासंघले विगतमा सरकारसँग भएका सम्झौताअनुसार शिक्षा क्षेत्रको सुधारका लागि कानुनी आधार सुदृढ गर्नुपर्नेमा जोड दिएको छ। साथै, आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमा शिक्षा क्षेत्रमा कुल बजेटको कम्तीमा २० प्रतिशत विनियोजन गर्न पनि सरकारसँग माग गरिएको छ।
यसैबीच, हप्तामा दुई दिन बिदा दिने सरकारी निर्णयलाई महासंघले सकारात्मक कदमका रूपमा स्वागत गर्दै सो व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ बैशाख २०८३, १६ : ०७
लेखकबाट थप