भरतपुर महानगरले दियो २३९ विद्यार्थीलाई छात्रवृत्ति

रासस

बुधबार, २० असोज २०७८, ०८ : ५३
भरतपुर महानगरले दियो २३९ विद्यार्थीलाई छात्रवृत्ति

चितवन । भरतपुर महानगरपालिकाले कक्षा ११ मा अध्ययनरत २३९ छात्र–छात्रालाई दुई वर्षका लागि छात्रवृत्ति उपलब्ध गराएको छ । महानगरले सार्वजनिक सूचना जारी गरी संस्थागत विद्यालयमा अध्ययन गर्न चाहेका छात्रछात्रालाई छनोट गरी छात्रवृत्तिको सिफारिस गरेको हो । नेपाल सरकारको साविक शिक्षा ऐन र महानगरको शिक्षा ऐन एवं कार्यविधिमा संस्थागत विद्यालयले न्यूनतम १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने उल्लेख छ । हालसम्म ऐनका भएर पनि कार्यान्वयन हुनसकेको थिएन ।

संस्थागत विद्यालयमा पहुँचको भरमा केहीलाई छात्रवृत्ति दिइँदै आएको थियो । महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौडेलका अनुसार देशभरका पालिकामा पहिलोपटक महानगरले छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार सार्वजनिक सूचना जारी गरेर विद्यार्थीको छनोट गरी सिफारिस गरेको हो । महानगरपालिकाका कक्षा ११ सञ्चालन भएका २८ संस्थागत विद्यालयमा चार हजार ७४७ विद्यार्थी भर्ना भएका छन् । ती विद्यार्थी सङ्ख्याको पाँच प्रतिशत महानगरले छात्रवृत्ति सिफारिस गरेको हो भने बाँकी पाँच प्रतिशत विद्यालयले छात्रवृत्ति दिनेछन् ।

छात्रवृत्ति पाएकाले भर्ना शुल्क र मासिक शुल्क भुक्तान गर्नु पर्दैन । पौडेलले भने , “छात्रवृत्ति पाएकाको भर्ना र मासिक शुल्क बुझाइएको भए फिर्ता पाइने छ ।” महानगरभित्रका चार दैनिक पत्रिका र छवटा रेडियोमा सार्वजनिक सूचना जारी गरेर छात्रवृत्तिको आह्वान गरिएको थियो । यसमा २९६ जनाको आवेदन परेको थियो ।

महानगर प्रमुख रेनु दाहालका अनुसार सम्पूर्ण प्रक्रिया पूरा गरेर छात्रवृत्ति सिफारिस गरिएको हो । त्यसमा जेहेन्दार, गरिब तथा विपन्न, आदिवासी जनजाति, दलित, अपाङ्ग, जनआन्दोलन घाइतेका सन्तति, सहिद परिवार, बेपत्ता परिवार र मधेश आन्दोलनका घाइतेका सन्ततिलाई छात्रवृत्ति सिफारिस गरिएको दाहालले बताईन् । । उनले भनिन्, “सुरुमा निजी शिक्षण संस्थाका सञ्चालक सकारात्मक नभए पनि पछि उहाँहरु यसमा सकारात्मक हुनुभएको छ ।” 

महानगरपालिकाले उपलब्ध गराएको सङ्ख्या बराबर विद्यालयले समेत छात्रवृत्ति दिने हुँदा लक्षित वर्ग लाभान्वित भएको उनको भनाइ छ । हालसम्म कुनै पनि पालिकामा लागू गर्न नसकिएकामा महानगरपालिकाले छात्रवृत्ति व्यवस्थापन कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरेको उनले बताईन् । । यसले विद्यार्थी लाभान्वितसँगै नयाँ पद्दतिको थालनी सुरु गरिएको उनले जानकारी दिईन्।

एसइईको प्राप्ताङ्क जिपिएका आधारमा विद्यार्थी छनोट गरिएको हो । महानगरपालिकाभित्र सरकारी तहमा कक्षा ११ पढाइ हुने विद्यालय ५१ रहेका छन् । ती विद्यालयले पनि छात्रवृत्ति दिँदै आएका छन् । कक्षा ११ मा निजी विद्यालयले वार्षिकरूपमा एक विद्यार्थीसँग रु एक लाख हाराहारी शुल्क लिँदै आएका छन् । सो शुल्कमध्ये भर्ना र मासिक शुल्क छात्रवृत्ति पाएकाले तिर्नु नपर्ने भएको हो । कक्षा ११ मा छात्रवृत्ति पाएकाले १२ मा पनि स्वतः पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस