३८ क्विन्टल सुन तस्करी प्रकरण : कसलाई भयो सजाय, कसले पाए सफाइ ?

पत्रपत्रिकाबाट

बुधबार, २० असोज २०७८, ०७ : ५६
३८ क्विन्टल सुन तस्करी प्रकरण : कसलाई भयो सजाय, कसले पाए सफाइ ?

विराटनगर । निक्कै चासो र चर्चाको विषय बनेको करिब ३८ क्विन्टल सुन तस्करी एवम् मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरण सम्बन्धी मुद्दाको फैसला जिल्ला अदालत मोरङले मंगलबार गरेको छ। पक्राउ परेका ५६ अभियुक्तमध्ये ८ जनालाई दोषी ठहर गर्दै र ४८ जनालाई सफाइ दिँदै न्यायाधीश भरत लम्सालको इजलासले मुद्दाको फैसला गरेको हो। 

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका ८ जनामध्ये ६ जनालाई जन्मकैदको सजाय सुनाइएको अदालतका सूचाना अधिकारी राजेन्द्रप्रसाद धमलाले बताए। उनका अनुसार मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेती, टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको सजाय सुनाइएको छ। जन्मकैदको सजाय पाएकाले २० वर्ष जेल बस्नुपर्छ। 

अपहरण तथा शरीर बन्धक मुद्दामा गोरेको कसूर कायम भयो। अरुले सफाइ पाए। धमलाका अनुसार यसको सजाय निर्धारणका लागि १ महिनापछि पुनः पेस गरिने छ। बहुचर्चित मुद्दाका प्रतिवादीमध्ये भारतीय नागरिक राजन कुमारलाई ३ वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजायको फैसला भएको छ। 

तस्करी गरेर दुबईबाट २०७४ साल माघ ९ गते काठमाडौं ल्याएको साढे ३३ किलो सुन त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर निकाल्ने क्रममा गायब बनाएको आरोपमा गोरेको समूहले सनमको हत्या गरेको हो। २०७४ साल फागुन १८ गते करेन्ट लगाएर यातना दिँदै मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरिएको भिडियो पनि सार्वजनिक भएको थियो। 

गायब बनाएको सुन निकाल्न दबाब दिँदै गोरेले बारम्बार सनमलाई करेन्ट लगाइरहेको भिडियोमा देख्न सकिन्छ। दोषी ठहर भएकामध्ये ठकुरी, काफ्ले र कार्की सनमको शव फागुन १९ गते विराटनगरबाट बरामद हुँदा पक्राउ परेका अभियुक्त हुन्। सनमको हत्यामा उनीहरु प्रत्यक्ष जोडिएका थिए। तीनै जना गोरेका सहयोगी एवं सवारी चालक हुन्। शेर्पा सनमको हत्यामा प्रत्यक्ष जोडिए पनि त्यतिबेला पक्राउ परेका थिएनन्। 

हत्या गरेपछि उनको शव धरानस्थित निर्वाणा कन्ट्री क्लबमा लगेर एक रात राखियो। सनमको शव राखिएको बा १२ च ५९६३ नम्बरको स्कोरपिओ र मे १ च ५३९८ नम्बरको कार पनि प्रहरीले नियन्त्रणमा लिएको थियो। राजन कुमार पनि गोरेका सवारी चालक हुन्। हराएको सुन खोज्ने क्रममा उनैले चलाएको गाडीमा बसेर गोरे काठमाडौंबाट उर्लाबारीसम्म आएको अनुसन्धानबाट खुलेको छ। घिमिरे सनमको हत्या हुनुभन्दा अघि घटनास्थल पुगेको खुलेको थियो। हत्यामा उनको प्रत्यक्ष संलग्नता भने देखिएन। गोरेको गिरोहले घिमिरेकै घरमा अड्डा जमाएर हराएको सुन खोज्नेदेखि लिएर अरु गतिविधी सञ्चालन गर्ने गरेको पत्ता लागेको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस