ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

सफल खबर संवाददाता

विहीबार, १४ असोज २०७८, ११ : ४८
ईपीएलमा चितवन र काठमाडौं मैदानमा, चितवनसामु १४२ रनको लक्ष्य

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल)  क्रिकेटमा काठमाडौं किंग्स ११ ले चितवन टाइगर्सलाई एक सय ४२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ४१ रन बनायो । काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे ।

चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए । दुवै टिमले आफ्नो पहिलो खेल जितेकाले अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुने छन् ।

यसैगरी आजै दिउँसो साढे १ बजे भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रियोट्सको खेल हुने छ । शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ । भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो ।

त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाडेको थियो ।ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ । ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन । ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस