काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

सफल खबर संवाददाता

शनिबार, ०९ असोज २०७८, १९ : ०४
काठमाडौंले ललितपुरलाई ७ विकेटले हरायो

काठमाडौं । काठमाडौं किंग्स ११ ले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो । ललितपुरले दिएको १५८ रनको लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंको जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

१५६ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंको सुरुवात राम्रो हुन सकेन । ओपनर सुवास खकुरेल पहिलो ओभरमा खाता नखोली रनआउट भए भने अमित श्रेष्ठ दोस्रो ओभरमा ४ रन बनाएर रनआउट हुँदा काठमाडौंले १२ रनमै २ विकेट गुमाएको थियो।

तर अर्का ओपनर रहमानुल्लाह गुर्बाजले एक छेउबाट आक्रामक ब्याटिङ गर्दै काठमाडौंको इनिङ्स सम्हाले । उनलाई रायन बर्लले गतिलो साथ दिए । यी दुईले तेस्रो विकेटका लागि ७६ रनको साझेदारी गरे । गुर्बाजले ३६ बल खेल्दै ४ चौका र ४ छक्का मद्दतमा ५९ रन बनाए ।

११ औं ओभरमा गुर्बाज आउट हुँदा काठमाडौंको स्कोर ८८ पुगेको थियो । त्यसपछि बर्लले आक्रामक ब्याटिङ गर्दै २७ बलमै अर्धशतक बनाए । बर्लले राजु रिजालसंग चौथो विकेटका लागि अविजित ७२ रनको साझेदारी गर्दै काठमाडौंलाई जितसम्म पुर्‍याए । बर्लले ३४ बल खेल्दै ३ चौका र ७ छक्का मद्दतमा अविजित ७३ रन बनाए । बर्लले १५ औं ओभरको दोस्रो बलमा ललितपुरका कप्तान कुशल भुर्तेललाई चौका प्रहार गर्दै काठमाडौंलाई जित दिलाए । राजुले १३ बल खेल्दै २ चौका मद्दतमा अविजित १९ रन बनाए ।

प्रतिक्रिया दिनुहोस