मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

सफल खबर संवाददाता

मंगलबार, ०५ असोज २०७८, १७ : ४६
मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बैठक बस्ने तयारी भइरहेको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवाले सोमबार छिट्टै मन्त्रिमण्डलले पूर्णता पाउने घोषणा गरेका थिए। अहिले कांग्रेस र माओवादी केन्द्रबाट ५ जना सरकारमा छन्।

त्यसबाहेक देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी पार्टीबाट पनि सरकारमा सहभागी गराएर मन्त्रिमण्डल विस्तार गरिन लागेको हो। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालसहित १४ सांसदविरुद्ध एमालेले हालेको रिटमाथि फैसला आउन समय लाग्ने भएपछि सरकारलाई विस्तार गर्न प्रधानमन्त्री शेरबहादुर देउवा अघि बढेका छन् ।

जसपाले सरकारमा सहभागी हुनुअघि प्रतिनिधि सभामा पेश भएको दल विभाजन सम्बन्धि अध्यादेश खारेज हुनुपर्ने सर्त राखेको छ। त्यस आधारमा केही मन्त्रीहरु नियुक्त गरेर जाने र बाँकीको पछि नियुक्त गर्ने सम्भावना पनि छ।

कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले पनि शीर्ष नेताहरुबीच निरन्तर छलफल चलिरहेको बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ६ बजे गठबन्धनको बैठक बस्ने र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने बताए। 
 

प्रतिक्रिया दिनुहोस