काठमाडौं । धान खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल खाद्य संस्थान लहान कार्यालय प्रमुखसहित चार विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
संस्थानको शाखा कार्यालय लहानमा विसं २०७५ मा नियम विपरीत ७० हजार क्विन्टल धान खरिदमा कमिशन लिई भ्रष्टाचार गरेको, गुणस्तरहीन धान खरिद गरी चामल सडेको भन्ने उजुरीका आधारमा आयोगले छानबिन गरेको थियो ।
संस्थाका कर्मचारी र मिल सञ्चालकको मिलेमतोमा खरिद निर्देशिका विपरीत रु ९७ लाख दुई हजार ७८४ बराबरको हानी नोक्सानी गरेको आयोगको अनुसन्धानमा पाइएको छ । आयोगले कार्यालय प्रमुख गङ्गाप्रसाद साह र लेखा प्रमुख सुनिताकुमारी यादव विरुद्ध बिगो अनुसारकै कारवाही र कैद सजायको माग गरेको छ ।
निलकमल सेलर मिलका सञ्चालक अशोककुमार अग्रवाल विरुद्ध रु सात लाख ५१ हजार १५३ र गिरधारी खाद्य उद्योगका सञ्चालक लालुप्रसाद अग्रवाल विरुद्ध रु ५८ लाख ७५ हजार ६१२ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको आयोग प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
त्यस्तै आयोगले दाङ राजापुर गाँउपालिकाको सल्लेरी सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष दीपक घर्ती, कोषाध्यक्ष पूर्णबहादुर घर्ती र सचिव निमा चौधरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनीहरुले गैरकानूनीरूपमा रु चार लाख ५२ हजार २६५ बराबरको स्रोतको दुरुपयोग गरेको अभियोगमा आजै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, ०४ असोज २०७८, २१ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुनेको घरमा आगो लगाउने एटीएफका कार्यकर्ताविरुद्ध कर्तव्य ज्यानको मुद्दा
एन्फाका पूर्वअध्यक्ष थापाले गरे महासचिव राईविरुद्ध मुद्दा दायर
गोदावरीमा अवैध वन उत्खनन, तीन व्यवसायीविरुद्ध मुद्दा
एक वर्षमा थपिए २ लाख २८ हजार मुद्दा, १ लाख ६२ हजार फर्छ्यौट हुन बाँकी
गणेश थापाद्वारा एन्फा महासचिव राईविरुद्ध मुद्दा दायर
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु