देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गर्ने तयारी

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १८ : २२
देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गर्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लामा एकलौटी रुपमा वडा अधिवेशन गरिने भएको छ। डडेल्धुराका लागि केन्द्रीय प्रतिनिधि भएर खटिएका निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले एक विज्ञप्ति जारी गर्दै भदौ २५ गते वडाधिवेशन गरिने र बाँकी तहको अधिवेशन केन्द्रले तोकेबमोजिम गरिने जानकारी दिएका छन्। 

यसअघि नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्यसमितिको भदौ २२ गते बसेको बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान नभएसम्मका लागिअधिवेशनका कार्यक्रम स्थगत गर्ने निर्णय गरेको थियो। जिल्ला कार्यसमितिको उक्त निर्णयपछि निर्वाचन अधिकृत बमले भदौ ३१ गतेका लागि मिति तय गरेका थिए। 

तर, बिहीबार एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक संघको सहयोगमा मतदान अधिकृत तोकी सम्बन्धित वडामा निर्वाचन सामग्रीसमेत पठाइसकेकोले कुनै पनि किसिमको भ्रममा नपरि अधिवेशनमा सक्रिय हुन आग्रह गरिएको छ। 

तर, जिल्ला सभापतिसमेत रहेका कर्ण मल्ला पक्षले भने चुनाव बहिष्कार गर्ने बताएको छ। जिल्ला सभापति मल्लले क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म आफूहरु निर्वाचन पक्रियामा सहभागी हुन नसक्न‍े बताएका छन्। उनले भने, ‘जिल्ला कार्यसमितिको निर्णय अनुसार केन्द्रबाट थपघट गरिएका क्रियाशील सदस्यहरुको समस्या समाधान नभएसम्म निर्वाचन प्रक्रियामा सहभागी हुन सकिँदैन। हामी बहिष्कार गर्छौं। भोलि एक पक्षमात्रै चुनावमा सहभागी हुन्छ।’

उनले थप भनेका छन्, ‘म निकै स्तब्ध भएको छु। जुन नेताले आफ्नो जीवनको एक दर्जन वर्ष जेलमा बिताए। करिब तीन दर्जन वर्ष राजनीतिक संघर्षका कठिन दिनहरु बिताए । उहाँकै जिल्लामा, उहाँ नै सभापति भएको बेला, उहाँ नै प्रधानमन्त्री भएको बेला, उहाँकै पार्टीको सदस्यता नामावलीमा भएका त्रुटीलाई सच्याउन भनिएको छ। तर, पार्टीको जिल्ला सभापतिलाई कुनै जानकारी नदिएर, पार्टीको कार्यालयलाई बेवास्ता गर्दै, प्रहरी परिचालन गरेर वडाधिवेशन होटलबाट एक समूहको सल्लाहमा प्रक्रिया अघि बढाएको सुन्‍नमा आएको छ। यो दुस्खद र पार्टी राजनीतिभित्रको ध्रुवीकरण गराउने प्रयास गरिएको छ।’