जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप

एजेन्सी

बुधबार, २३ भदौ २०७८, २१ : ३३
जापानका १९ प्रान्तमा सङ्कटकालको अवधि फेरि थप

काठमाडौँ । जापानले देशका १९ प्रान्तमा सङ्कटकालको समयावधि फेरि थप गर्ने निर्णय बुधबार गरेको छ । कोरोनाभाइरसको महामारी अझै फैलिएको र खतरा अन्त्य नभएको निष्कर्ष निकाल्दै म्याद फेरि थप्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । 

यही सेप्टेम्बर ३० तारिखदेखि लागुहुने गरी सङ्कटकालको समयावधि फेरि थप गरिएको हो । देशका कूल ४७ प्रान्तमध्ये २१ प्रान्तमा यही सेप्टेम्बर १२ देखि सङ्कटकाल लागू भएको छ ।  

मियागी र ओकायामा प्रान्तमा भने महामारी कम हुँदै गएको ठानेर अर्ध सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जनाएका छन् । त्यसैगरी अर्ध सङ्कटकाल लगाइएका १२ मध्ये टोयामा, यामानाशी, एहिम, खोची, सागा र नागासाकी गरी ६ प्रान्तमा भने हालै अर्ध सङ्कटकाल पनि हटाइएको छ । 

कोरोनाभाइरसको नयाँ नयाँ भेरियन्ट फैलिँदै गएपछि देशका धेरै ठाउँमा सङ्कटकाललाई निरन्तरता दिनुपरेको अधिकारीहरूले जानकारी दिएका छन् । सङ्कटकाल लागू गरिएको क्षेत्रमा अत्यावश्यक काम बाहेक अन्य अवस्थामा हिँडडुल गर्न प्रतिबन्ध लगाइएको छ । अत्यावश्यक कामका लागि पनि स्थानीय अधिकारीहरूलाई जानकारी दिएर वा अनुमति लिएर मात्रै हिँड्न पाइने व्यवस्था गरिएको छ । 

अधिकांश पसल तथा कार्यालयहरू बन्द गरिएको छ भने भीडभाड गर्न निषेध गरिएको छ । सरकारको आदेश नमान्नेलाई कडा कारबाहीको चेतावनी पनि दिइएको छ ।