भोजपुरमा ८४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न

सफल खबर संवाददाता

विहीबार, १७ भदौ २०७८, ११ : १३
भोजपुरमा ८४ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न

भोजपुर । भोजपुरमा भूकम्पबाट क्षति भएका ८४ दशमलव ९५ प्रतिशत घरको पुनर्निर्माण सम्पन्न भएको छ । पहिलो किस्ता लिएका ६ हजार एक सय ९४ मध्ये हालसम्म पाँच हजार दुई सय ६२ घरको पुनर्निर्माण सम्पन्न भएको जिल्ला आयोजना कार्यान्वयन इकाई भोजपुरले जनाएको छ ।

पछिल्लो समय कार्यालयले स्थानीय तहस्तरीय कार्यक्रम सञ्चालन गर्दै वडास्तरमा रहेका समस्याको विषयमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरूसँग पुनर्निर्माणसम्बन्धी गोष्ठी सञ्चलान गर्न थालेसँगै कामले तीव्रता पाएको कार्यालयको भनाइ छ । पहिचान भएको लाभग्राहीमध्ये हालसम्म ६ हजार एक सय ९४ पीडितले पहिलो किस्ता र पाँच हजार चार सय ९३ जनाले दोस्रो किस्ता लिएका छन् । 

जिल्लाभर पाँच सय १६ जना प्रवलीकरणका लाभग्राही छन् । ‘हामी स्थानीयस्तरसम्म पुगेर त्यहाँका समस्याको विषयमा जानकारी लिँदै, सरोकारवाला पक्षसँग छलफलसमेत गरिरहेका छौं, यसले काम चाँडो सम्पन्न गर्न निकै मद्दत गरेको छ, जिल्लामा अहिले पुनर्निर्माणले निकै राम्रो गति लिएको छ,’ कार्यालय प्रमुख धर्मेन्द्रकुमार झाले भने ।

सरकार परिवर्तन भएसँगै काममा भने केही अन्योलता देखिएको कार्यालयको भनाइ छ । अघिल्लो सरकारले आगामी कात्तिक मसान्तसम्म पूर्णरूपमा निर्माण सम्पन्न गर्ने परिपत्र गरेको भए पनि अछिल्लो समय कुनै परिपत्र नआएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस