कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार

पत्रपत्रिकाबाट

विहीबार, १७ भदौ २०७८, ०६ : १७
कोरोना कहरबीच १ सय २ देशसँग वैदेशिक व्यापार

काठमाडौं । कोरोना कहरबीच चालू आर्थिक वर्ष २०७८-७९ प्रारम्भको पहिलो महिना गत साउनमा नेपालले संसारभरका विभिन्न १ सय २ वटा देशसँग व्यापार गरेको छ ।

वैदेशिक व्यापारका क्रममा नेपालले अधिकांश मुलुकसँग घाटाको कारोबार गरेकोमा बेलायत, अफगानिस्तानलगायतका १४ देशसँग भने नाफाको व्यापार गरेको पाइएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा बेलायत, कम्बोडिया, अफगानिस्तान, स्विडेन, स्लोभेनिया, न्यु क्यालेडोनिया, आर्मेनिया, रोमानिया, पोर्चुगल, स्लोभाकिया, जर्जिया, सेन्ट हेलेना, आइसल्यान्ड र क्रोएसियालगायत विभिन्न १४ वटा देशसँग नेपालले नाफाको व्यापार गरेको हो ।

साउन महिनामा वैदेशिक व्यापारमा नेपालले बेलायतसँग ११ करोड ३९ लाख रुपैयाँबराबरको नाफा गर्न सफल भएको हो । गत साउनमा नेपालले बेलायतबाट १७ करोड ६६ लाख रुपैयाँ बढीको मालवस्तु आयात गर्दा त्योभन्दा निकै बढी कुल २९ करोड ६ लाख रुपैयाँबराबरको मालवस्तु निर्यात गरेको थियो ।

– बेलायत, कम्बोडियालगायत १४ देशसँगको व्यापार नाफामा
– आयात, निर्यात दुवै बढ्यो 
– भारत र चीनसँगको व्यापार घाटा भने वृद्धि

नेपालले सोही अवधिमा नाफाको व्यापार गरेको अर्को दोस्रो देश कम्बोडिया हो । सो समीक्षा अवधिमा द्वन्द्वग्रस्त मुलुक अफगानिस्तानसँग पनि नेपालले नाफाको व्यापार गरेको देखिन्छ । केही मुलुकमा नाफाको व्यापार गरे पनि पछिल्लो समय बढ्दो आयातका कारण ठूलो व्यपारघाटा झेलिरहेको नेपालको निर्यात भने न्यून रहेको भन्सार विभागले जनाएको छ । राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस