पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीनजना घाइते

रासस

सोमबार, १४ भदौ २०७८, ११ : १८
पहिरो खस्दा कालीपुलका आठ घर क्षति, तीनजना घाइते

म्याग्दी । बेनी नगरपालिका–८ कालीपुलस्थित कालीगण्डकी नदीमा पहिरो खस्दा तीनजना घाइते भएका छन् । आठ घरमा क्षति भएको छ । पर्वतको जलजला गाउँपालिका–३ मल्लालको भिरबाट सो नदीमा पहिरो खस्दा बेनी–८ मा अवस्थित कालीपुल बजारमा छालसहितको बाढी आएको थियो ।

कालीपुल टोल सुधार समितिका संयोजक ताराप्रसाद पुनले सोमबार बिहान खसेको पहिरोले नदीमा छाल र बाढी बजारतर्फ आउँदा आठ घरमा क्षति पुर्‍याएकोे जानकारी दिए । उनका अनुसार बाढीले घर भत्कदा सन्तु पुन, गोविन्द बुढा र रेखा नेपाल घाइते हुनु भएका र उनीहरुलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि बेनी अस्पताल पुर्‍याएका थिए ।

उनले अहिले पनि पहिरो खस्ने क्रम नरोकिएको र कालीपुल बजारका ३० घर थप जोखिममा परेको जानकारी दिए । मध्यरातमा अविरल वर्षासँगै ठूलो आवाजमा पहिरो खसेपछि स्थानीयवासी भागदौड गरेर कालीपुलको माथिल्लो भागमा पुगेका थिए । स्थानीयवासीले रातभर सडकका पेटीमै आश्रय लिएका थिए ।

‘पहिरोसँगै घरभित्रै नदीको बाढी आयो, वृद्धवृद्धालाई बोकेर सुरक्षित स्थानमा सा¥यौँ, अझै जोखिम टरेको छैन, पहिरो खसेको ठाउँमा थप पहिरो जाने जोखिम छ’, स्थानीयवासी सुरेश पुनले भने । उनका अनुसार बजारमा आएको छालले घरसँगै शौचालय, खानेपानीलगायतमा समेत क्षति पु¥याएको छ । छालले नदी नियन्त्रणको लागि बनाएको पर्खालमा लगाइएको फलामको तारबारसमेत पूर्णरुपमा भत्काएको छ ।

यसैबीच पहिरो र बाढीको चपेटामा परेको कालीपुल क्षेत्रको अवस्थाका बारेमा बेनी नगरपालिकाका जनप्रतिनिधि, सुरक्षाकर्मीलगायतको टोलीले स्थलगत निरीक्षण गरेका छन् । पहिरो खसेर आएको बाढीले पुर्‍याएको क्षतिको बारेमा अवस्था बुझ्ने काम गरिएको र थप जोखिम नटरेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा रहन अनुरोध गरिएको वडा नं ८ का वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस