चिनियाँ ठेकेदारले गैँडाकोट-बुटवल सडक बनाउन सकेन, ठेकेदारलाई कारबाही गरी सम्झौता रद्ध गर्नुपर्ने पक्षमा कन्सल्टेन्ट कम्पनी

प्रकाश सिग्देल

शनिबार, १२ भदौ २०७८, १४ : २७
चिनियाँ ठेकेदारले गैँडाकोट-बुटवल सडक बनाउन सकेन, ठेकेदारलाई कारबाही गरी सम्झौता रद्ध गर्नुपर्ने पक्षमा कन्सल्टेन्ट कम्पनी

नवलपुर । २०७५ चैत्र ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको गैडाकोट पुलचोक देखि बुटवल सम्मको सडकले अहिले पुर्व प्रधानमन्त्री ओलिलाई जिस्काई रहेको छ ।

सडक निर्माणको जिम्मा पाएको चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले सडक निर्माणको कामलाई गति दिन नसक्दा अहिले यो सडक अलपत्र जस्तै बनेको छ । ११३ किलोमिटर लामो गैँडाकोट नारायणी नदि पुल देखि बुटवलसम्मको सडक विस्तारका लागि १७ अर्व रुपैयाँमा  चाइना स्टेट कन्स्ट्रक्सन प्रालिले ठेक्का पाएको थियो ।
साढे तिन वर्षमा निर्माण सकिसक्नुपर्ने यो सडकको निर्माणको काम सुरु भएको २ वर्षको अवधिमा जम्मा ८.५ प्रतिशत मात्रै भौतिक प्रगती भएको छ ।

तोकिएकै मितिमा काम सक्न सम्झौता भएको मिति देखि हरेक महिना भौतिक प्रगती २.५ प्रतिशत  हुनु पर्ने कन्सल्टेन्ट कम्पनीले जनाएको छ । तर ठेकेदारले झण्डै २५ महिनामा ८.५ प्रतिशत मात्रै भौतिक प्रगती गरेको छ ।

सम्झौता तोडेर कारबाही गर्नुपर्छ : कन्सल्टेन्ट
यो ठेकेदारले काम गर्न सक्ने स्थिति नदेखएकाले सम्झौता तोड्नुपर्ने पक्षमा परामर्श दाता कम्पनी रहेको छ । आफुहरुले पटक पटक निर्देशन दिदा पनि ठेकेदारले सडक निर्माणमा चासो नदेखाएकाले आफुहरु नेपाल सरकारलाई यो ठेकेदार लाई कारबाही गर्नुपर्ने सुझाव सहितको पत्र लेख्ने तयारीमा रहेको कन्सल्टेन्ट कम्पनीका डेपुटी टिम लिडर ईन्जिनियर प्रकाश शाह बताउछन् । एक महिना भित्र आफुहरुले फाईनल रिपोर्ट सरकारलाई पेश गर्ने उनले बताए । ठेकेदार कम्पनीले काम यहि गतिमा अगाढी बढाउने हो भने यो सडक आगामी १० वर्षमा पनि यसको काम सकिने स्थिति देखिएको छैन् ।

सरकारलाई धिर्काछन् सवारी चालक
ठेकेदार कम्पनीले प्रभावकारी ढंगबाट काम नगर्दा अहिले यो सडकमा यात्रा गर्दा  निकै कष्ट भोग गर्न बाध्य छन् यात्रुहरु । सडक भत्किएर बिच बिचमा ठुला ठुला खाडल परेका छन् भने सडकको दायाँबाँया ठेकेदार कम्पनीले सडक बिस्तारको नाममा सडक भत्काएर त्यसै अलपत्र पारेको छ ।

जसले गर्दा यो बर्षातमा हिलो र धुलोले यो सडक भएर यात्रा गर्न निकै ठुलो समस्या भएको यात्रुहरु बताउछन् । यो सडकका कारण धेरै ठुलो नोक्सानी भोग्न बाध्य हुनु परेको सवारी चालकहरु बताउछन् ।

सवारी  चालक गणेश पट्टेलले बाटो साह्रैै खराव भएर ३ दिनमा पनि नारायणगढ बाट भैरहवा पुग्न नसकिने अवस्था आएको बताए । सरकारको गैर जिम्मेवार पनका कारण सवारी चालक र यात्रुहरुले यो सडकमा यात्रा गर्दा धेरै दुख भोग्नु परेको उनको भनाई छ । बाटोमा ठुला ठुला खाडल परेर गाडी कुदाउनै नसकिने भएको र बाटोकै कारण घण्टौ जाममा बस्नु पर्ने गाडी बिच बाटैमा बिग्रने समस्या आएको उनको भनाई छ ।

ठेकेदारले समयमै पुल र कल्भट नबनाउदा अहिले बर्षातमा बाढीले कल्भट भत्काएपछि झोकभोकै बाटोमा २४ घण्टा बढि जाममा बस्नु पर्दा बाटो खर्चो सकिएर भोकै बस्नु पर्ने अवस्था आएको ट्क चालक मनोज महतोले बताए । सरकारको चरम लापरबाहीका कारण यो सडकमा यात्रा गर्न निकै असुरक्षित भएको उनको भनाई छ ।
गैंडाकोटदेखि दाउन्नेसम्मको ६४.४ किलोमिटर खण्डलाई प्याकेज एक र दाउन्नेदेखि बुटवल चौराहासम्मको ४८.५ किलोमिटर खण्डलाई प्याकेज दुई बनाएर निर्माण थालिएको थियो ।  

सडकखण्ड विस्तार ढिलाइको कारण रुख हटाउने र पोल हटाउने अनुमति नआएकोले ढिला भएको बताईएको छ । तर सडक निर्माणमा ढिला हुनुमा मुख्य दोसी ठेकेदार कम्पनी भएको कन्सल्टेन्ट कम्पनीले बताएको छ ।

१७ अर्वको योजना अलपत्र
एसियाली विकास बैंकको ऋण सहयोग विस्तार थालिएको  सडकको लागत १६ अर्ब ९९ करोड ५२ लाख रुपैयाँ छ । गैंडाकोट–दाउन्ने सडकखण्डको लागत ९ अर्ब १३ करोड १८ लाख ९५ हजार र दाउन्ने–बुटवल खण्डको लागत ७ अर्ब ८६ करोड ३४ लाख रुपैयाँमा ठेक्का लागेको छ ।एडीबीको ८५ प्रतिशत ऋण र बाँकी नेपाल सरकारकै लगानीमा हाल दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गर्न खोजिएको थियो । एडीबीले नेपाल सरकारलाई १.५ प्रतिशत ब्याजदरमा ३२ वर्षमा चुक्ता गर्ने गरी ऋण उपलब्ध गराएको हो ।

महेन्द्रले बनाएको सडक बिस्तार गर्न पनि सकेन सरकार
तत्कालीन राजा महेन्द्रले २०१८ सालमा शिलान्यास गरेर २०२९ सालमा निर्माण सकिएको नारायणगढ बुटवल सडकखण्ड ५८ बर्षपछि फराकिलो बनाउन लागिएको हो ।

सडकखण्डलाई मानवबस्तीमा ६ लेन र जंगलमा ४ लेनमा विस्तार गर्ने बताईएको छ ।  कठिन भूगोल र पहिरोको जोखिम रहेको दाउन्नेको उकालोमा पर्ने ९.९ किलोमिटर सडकमा तीन लेनको मात्रै सडक बन्ने आयोजनाले जनाएको छ ।  दाउन्ने उकालोमा गुड्ने सवारीसाधनले २ लेन र ओरालोमा गुड्ने सवारीले १ लेन प्रयोग गर्ने छन् ।

सो सडकमा २१ वटा नयाँ पुलहरू बन्ने छन् । अहिले जहा–जहाँ पुल छन्  तिनीहरूको दायाँ–बायाँ गरी २१ वटा साना ठूला पुल बनाउने लक्ष्य छ । साढे तीन वर्षमा सडक निर्माणको काम सकेपनि पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्नेगरी सम्झौता भएको छ ।  सडक निर्माण पूरा भएपछि बुटवलबाट नारायणगढ डेढ घण्टादेखि पौने दुई घण्टामा पुग्न सकिने दाबी सडक विभागको छ ।

प्रतिक्रिया दिनुहोस