एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

रासस

सोमबार, २५ साउन २०७८, १३ : १४
एक वर्षमै लटरम्म फल्न थाले स्याउ : ढुवानी गर्न बारीभित्रै हेलिप्याड

गोरखा । उत्तरी गोरखाका नामरुङमा बेर्ना सारेको एक वर्षमै स्याउ फल्न शुरु गरेको छ । गण्डकी प्रदेश सरकारले किसानको आयआर्जन वृद्धिका लागि  गत वर्ष अनुदानमा वितरण गरेको इटालियन जातको उन्नत बेर्ना वितरण गरेको थियो ।  

 चुमनुब्रीगाउँपालिका–४ स्थित नामरुङको पोरमा लगाइएको करिब चार हजार भन्दा बढी बोटमा स्याउ फल्न थालेको वडाध्यक्ष पेमाडुन्डुप लामाले जानकारी दिए। चुमनुब्रीकिसान समूहलाई गत वर्षका असारमा प्रदेश सरकारले उपलब्ध गराएको इटालियन जातको गोल्डन, फुजी, गाला, रेड डेलिसेस र किङग डेलिसेस जातका बिरुवाले एकै वर्षमा राम्रो उत्पादन दिन थालेको छ, उनले भने, “गत वर्षको असारमा बेर्ना सारिएको थियो, अहिले बोटमा राताम्मै फलेको छ ।” त्यहाँ स्थानीय किसान मिलेर समूहमा व्यावसायिक स्याउ खेती गर्न शुरुआत गरेका थिए । 

प्रदेश सरकारको ७० प्रतिशत अनुदानमा कूल चार हजार ३७० बोट स्याउ रोपिएको वडाध्यक्ष लामाले जानकारी दिए । “रोपिएकामध्ये ११४ बोट हुर्किएनन् । अरु सबै बोट राम्रोसँग हुर्किएका छन, उनले भने “पहिलो वर्षमानै सोचे भन्दा धेरै राम्रो फलदिन थालेको छ ।” एउटै बोटमा २० केजीसम्म स्याउ फलेको उनको भनाइ छ । 

नयाँ र कलिला बोटले धान्न नसक्ने भएपछि छाँटकाँट शुरु गरिएको छ । “अहिले एउटा बोटमा पाँच केजीसम्म बढी  फलेका छन्, वडाध्यक्ष लामाले भने, “साना बोटले त्यो भन्दा बढी धान्न नसक्ने भएपछि दाना टिपेर फाल्नु प¥यो ।” 
 स्याउलाई वन्यजन्तुबाट जोगाउन तारबार गरिएको र स्याउ फार्मभित्र अहिले दैनिक आठले नियमित रुपमा काम गर्दै आएका छन् । इटालीबाट ल्याइएका ती विरुवा खच्चडबाट उत्तरी गोरखामा ढुवानी गरेर पु¥याएको थियो । सो क्षेत्रमा स्थानीय जातको स्याउ उत्पादनहुँदै आएको भए तापनि विदेशी जातको स्याउ उत्पादन भने पहिलो पटक भएको बताइएको छ ।

‘परीक्षणका लागि पनि भने फरक प्रजातीको स्याउ खेती गरिएको शुरु गरिएको थियो, उनले भने, “स्याउले पहिलो वर्ष नै राम्रोसँग फलदिएकाले राम्रो आम्दानी हुन्छ भन्ने किसानको विश्वास छ ।”

स्थानीय किसान मिलेर पोरमा गत वर्षदेखि करिब १००  रोपनीमा अहिले स्याउखेती गरेका थिए । “करिब ३००  रोपनीजग्गा स्याउ खेतीका लागि भाडामा लिइएको छ”, उनले भने , “बेर्नाको अभावका कारण तत्काललाई सय रोपनी क्षेत्रफलमा बेर्ना लगाइएको थियो, बाँकी जमिनमा पनि बेर्ना थप्दै जाने योजनामा किसान छन् ।” सडक सञ्जालले नछोएको उत्तरी गोरखामा उत्पादन हुने स्याउलाई बजारसम्म पु¥याउनका लागि भने ढुवानी समस्या रहदै आएको छ । 

प्रतिक्रिया दिनुहोस