सांसदलाई बन्धक बनाउनु आपराधिक आक्रमण : माओवादी केन्द्र

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १९ : ३०
सांसदलाई बन्धक बनाउनु आपराधिक आक्रमण : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रले सांसदलाई बन्धक बनाउनु आपराधिक आक्रमण भएको बताएको छ । लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीलाई मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक बनाइएको खबर बाहिरिएपछि यसलाई माओवादी केन्द्रले आपराधिक आक्रमण भनेको हो । 

माओवादी केन्द्रको शुक्रबार बसेको स्थायी कमिटी बैठकले भनेको छ, ‘यो घटना नेपालको लोकतन्त्र, राजनीति, मानव अधिकार र व्यक्तिको स्वतन्त्रतामाथिकै लज्जास्पद, निकृष्ट र आपराधिक आक्रमण हो । हाम्रो पार्टी यो घटनाको भर्त्सना एवं घोर निन्दा गर्दछ ।’
राजनीतिको यो हदको भ्रष्टीकरण, स्खलन र अपराधीकरणबाट मुलुकलाई बचाउन सबै लोकतान्त्रिक र वैधानिक उपायका लागि सबैलाई अपील गरिएको छ ।

एमाले र प्रदेश सरकारले त्यसको खण्डन गर्दै वली आफ्नै इच्छाले मुख्यमन्त्री निवासमा आएर बसेकी जनाएको छ । 

प्रतिक्रिया दिनुहोस