निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

सफल खबर संवाददाता

शुक्रबार, २२ साउन २०७८, १८ : २६
निरन्तर सुधारभित्र गुणात्मक सुधार चाहन्छु : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले जनताको पसिनाको थोपा थोपाबाट संकलन भएको राजश्वको न्यायपूर्ण वितरण हुने गरी नीति बनाउन निर्देशन दिएका छन् । शुक्रवार मन्त्रालयमा आयोजित राजश्व सचिव रामशरण पुडासैनीको विदाई समारोहलाई सम्बोधन गर्दै मन्त्री शर्माले संविधानले निर्दिष्ट गरेको जनअधिकारको मर्म बमोजिम न्यायिक वितरण सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् । 

‘राजश्व भनेको जनताको पसिनाको थोपा थोपाको संग्रह हो । यसको सम्मान गर्नुपर्छ र न्यायपूर्ण वितरण गर्नुपर्दछ’ मन्त्री शर्माले भने, ‘राज्यका हरेक नीतिहरु निरन्तर सुधारको प्रक्रियामा रहेता पनि म निरन्तर सुधारभित्र पनि ‘गुणात्मक सुधार’ चाहन्छु ।’ 

मन्त्री शर्माले थपे, ‘निरन्तर सुधारले मात्र पुग्दैन भन्ने मेरो मान्यता छ । निरन्तर सुधारभित्र गुणात्मक सुधार भएन भने त्यो यथास्थितिवादी नीति बन्छ । यथास्थितिवाद नीतिले परिवर्तनको आकांक्षालाई सम्बोधन गर्न सक्दैन । मैले गुणात्मक सुधारको लागि काम गर्ने हो । यो काम हचुवाको भरमा गर्ने होइन । गहन अध्ययन विश्लेषण गरेरै गर्ने हो । तर गर्ने नै हो’ उनले भने ।

अर्थ मन्त्रालय र सम्बद्ध निकायमा ३३ वर्ष काम गरेर सेवानिवृत्त हुन लागेका राजश्व सचिव पुडासैनीको विषयगत विज्ञताको प्रशंसा गर्दै मन्त्री शर्माले त्यसलाई राज्यले आगामी दिनमा पनि उपयोग गर्ने बताए ।  विसं २०४५ साल असार २० गते निजामति सेवामा प्रवेश गरेका पुडासैनीले आफ्नो उमेर हदका कारण ३३ वर्षे सेवाबाट साउन २५ गतेबाट निवृत्त हुँदैछन् । हाल अर्थमन्त्रालयबाट निवृत्त हुँदै गरेका पुडासैनीसँग विश्व बैंक र एशियाली विकास बैंकमा समेत बसेर काम गरेको लामो अनुभव रहेको छ । 

प्रतिक्रिया दिनुहोस