जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ : काँग्रेस नेता यादव

सफल खबर संवाददाता

सोमबार, १८ साउन २०७८, १६ : ३१
जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ : काँग्रेस नेता यादव

काठमाडौं । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री महेन्द्र यादवले नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाललाई जननेताको संज्ञा दिएका छन् । नेता नेपालले पार्टीभन्दा माथि उठेर राजनीतिक व्यवस्था, संविधान, लोकतन्त्रको पक्षमा आफूलाई उभ्याएको र सोहीअनुसार भूमिका खेलेको यादवको भनाइ छ । 

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने, ‘माधव नेपालले पार्टीभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुभयो । संविधान, व्यवस्था र कानुनको रक्षाको लागि अडान लिनुभयो । अब उहाँलाई एमालेले कारबाही गरेर उहाँको हाइट घट्दैन, बरु बढ्छ ।’ उनले माधव नेपाललाई गिरिजाप्रसाद कोइरालासँग तुलना गरे । उनले भने, ‘जसरी गिरिजाबाबु सबैले भरोसा गर्न योग्य नेता हुनुहुन्थ्यो, अहिले माधव नेपाल पनि त्यस्तै हुनुभएको छ ।’

उनले माधव नेपाल समूह पनि ढिलो÷चाँडो सरकारमा सहभागी हुने विश्वास दिलाए । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने सुनाए । उनले भने, ‘मन्त्रिपरिषद् विस्तार जतिबेला पनि हुनसक्छ । अब धेरै ढिलो हुँदैन । प्रधानमन्त्रीज्यू गठबन्धनमा आबद्ध दललाई विश्वासमा लिएर अघि बढ्न चाहनुहुन्छ । यो सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको हो । त्यसैले उहाँ सबैलाई समेटेर अघि बढ्न चाहनुहुन्छ । राष्ट्रिय सरकार नै बनाउन चाहनुहुन्छ ।’ 

उनले प्रधानमन्त्री देउवा बन्ने बित्तिकै गच्छदारलाई उन्मुक्ति दिइएको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने,‘देउवाजी प्रधानमन्त्री हुने बित्तिकै गच्छदारले उन्मुक्ति पाएको होइन । अदालतप्रति हामीले विश्वास गर्नुपर्छ ।’ उनले पार्टी सभापति देउवाले कहिल्यै पनि आलमलाई छुटाउने भनेर नभनेको पनि जिकिर गरे । उनले भने,‘भोलि आलम रिहा भए पनि यसलाई सरकारसँग जोडेर हेर्नुहुँदैन । हामीले अदालतलाई विश्वास गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस