गलेका ओली

साँच्चिकै केपी ओली माधव नेपालसँग गलेका हुन् की अर्को दाउ चाल्न खोजेका हुन् ? प्रश्न अनुत्तरित छ

सफल खबर संवाददाता

शुक्रबार, ०८ साउन २०७८, ०९ : ३६
गलेका ओली

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाल सहितका नेतालाई चार पटक स्पष्टीकरण सोधे । पछिल्लो केन्द्रीय कमिटि बैठकबाट पनि ओलीले २४ घण्टे स्पष्टीकरण वरिष्ठ नेता नेपाल सहित पार्टीका २२ सांसदलाई सोधे । प्रतिस्पर्धी पार्टी कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री टिकाउन संसदमा विश्वासको मत दिने काम पार्टी निर्णय विपरित गरेको, पार्टी विरुद्ध षडयन्त्र गरेको जस्ता आरोप लगाएर ओलीले पछिल्लो स्पष्टीकरण सोधेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवासबाट रन्थनिदै बाहिरिएर बालकोट नीजि निवास पुगेका ओलीले निवासको बार्दलीबाट माधव नेपाललाई अब एमालेमा कुनै स्थान नरहने भन्दै ‘गद्दार’ घोषणा गरेका थिए । लगत्तै पार्टीको आफु पक्षिय नेताहरुको केन्द्रीय कमिटि डाँकेर उनले पहिलो दिन नै नेपाल सहितका २२ सांसदलाई स्पष्टीकरण सोधेर पार्टीबाट निश्कासन गर्ने तयारी थालेका थिए । हुन त ओलीले गत फागुन २३ मा सर्वोच्च अदालतले एमाले र माओवादीको एकतालाई बदर गर्दै दुवै पूर्वपार्टी ब्यूताईदिने गरी फैसला गरेयता नै ओलीले नेपाल, भीम रावल सहितका ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरह्ने गरी कारवाही गरिसकेकका थिए ।

तर पनि उनी त्यो कारवाहीमा टिकिरह्न सकेनन् । आफैले गरेको कारवाही उनले फिर्ता लिए । त्यसयता माधव नेपाललाई ओलीको स्पष्टीकरण नयाँ र नौलो होइन । पटक पटक गरी पछिल्लो पटक सम्म गरी चौथो स्पष्टीकरण ओलीले नेपाललाई सोधिसकेका छन् । उनले पनि प्रत्येक स्पष्टीकरणको जवाफ चोटिलो र आक्रामक पारामै दिँदै आएका पनि छन् । पछिल्लोमा पनि त्यही भएको छ । एमालेको साउन ४ बाट केन्द्रीय कमिटिको बैठक राखेर पहिलो दिन नै नेपाल सहित सांसदलाई स्पष्टीकरण सोधेका ओलीले बैठक समापनमा आममाफी दिने भन्दै एकताको अन्तिम पहल फेरि आफैले लिने बताएर लचिलो देखिएका छन् ।

प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि उनले प्रधानमन्त्री देउवालाई बधाई सम्म पनि दिइनन् । सामान्य नैतिकता पनि उनले देखाइनन् । देउवाले नियुक्त गरेका महान्यायधिवक्ता खम्वबहादुर खातीको सपथमा उनले शितल निवास उपलब्ध गराइनन् । यसले पनि अहिलेको सरकार र राष्ट्रपतिको बीचमा टसल बढेको छ । देउवाले विश्वासको मत लिदा आफ्नै समुहका २२ सांसद, तटस्थ बसेका ११ सांसद , दिल्लीमा उपचाररत झलनाथ खनाल सहितका नेता विपक्षमा पुग्ने र अझ केही उतै लागेर राष्ट्रपतिसम्म दुई तिहाई बहुमत जुटाएर महाअभियोग लगाउन सक्ने भय ओलीमा देखिएको छ । 

तर ओलीको यो कदममा उनी लचिलो होइन गलेका हुन सक्ने अनुमान धेरैको छ । सरकारको रस्वादन गर्दा सम्म ओली नेपाल सहतिका नेतालाई खासै मतलब गर्दैनथे । सत्ताबाट बाहिरिँदाको छटपटाहटमा पनि उनले बालकोट पुगेर बार्दलीबाटै गद्दार सम्म भन्न भ्याए । तर अहिले बाटो बिराएकाहरुलाई पार्टीमै समेट्ने भन्दै आफैले सोधेको स्पष्टीकरण र त्यसको प्रतिजवाफमा कुनै चासो राखेनन् । ‘अब त्यो स्पष्टीकरण र जवाफको कुनै अर्थ रहेन, अध्यक्षले नै आम माफी हुने र फेरि आफैले एकताको प्रयास गर्ने बताएपछि त्यसको प्रसंग नै सिद्धिसकेको छ,’  ओली निकटका नेताहरुकै प्रतिक्रिया छ ।

किन गले ओली ?
माधव नेपालप्रति असाध्यै असहिष्णु बन्दै कडा टिप्पणी गर्दै आएका एमाले अध्यक्ष ओली एकाएक गलेका छन् । साँच्चै, उनी गलेका हुन्, या ओलीको गलेको नाटकभित्र अर्को दाउ छ ? त्यो भने बुझ्न सकिने विषय अहिले नै छैन् । माधव नेपाल निकटका स्थायी समिति सदस्य वेदुराम भुषाल भन्छन्, –‘एक समय कडा हुने, फेरि लत्रयालुत्रक हुन खोज्ने प्रवृति अचम्मको शैलीमा अहिले ओलीजीमा देखिएको छ । के साच्चैं उनी रियलाइज गरेर पार्टी मिलाउने गरी आउन खोजेका हुन् या फेरि त्यसभित्र अर्को षडयन्त्र लुकेको छ, अहिले नै खुलेको छैन् । आफु बलियो हुँदा केपी ओलीले त उहिल्यै माधव कमरेड सहितलाई पार्टीबाट निकालेका हुन् नि । अझै पनि विश्वासको गर्ने वातावरण छैन् ।’

ओली बोलीमा एउटा र ब्यवहारमा अर्को गर्ने नेता हुन् । उनी नेतापिच्छे नै फरक फरक ढंगले डिल गर्ने र आफ्नो सकुनी पासामा फसाउन रुचाउने नेता हुन् । त्यो उनको ब्यवहारले सिद्ध गरिसकेको छ । उनलार्इ त्यही कारण पनि हत्तपत्त विश्वास माधव नेपालले गरिरहेका छैनन् । पहिलो,  उनले माधव नेपाल समुहमा विभाजन ल्याउन अनेक हत्कन्डा प्रयोग गरे । त्यसमा उनी एक हदसम्म सरकारको नेतृत्वमा रहँदा सम्म सफल नै भएका हुन् । उनले नेपाल समुहका नेताहरु योगेश भटटराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे सम्मका नेतालाई प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एक्लाएक्लै भेट्ने र अनेक आश्वासन बाँड्ने काम गरे ।

विभाजित पार्टीको भविश्य नरहने र एमालेमै अब अरु नेता नभएकाले भविश्य रहेका नेताले एमालेमै रहेर काम गर्न भन्दै उनले नेतै पिच्छे पद बाँडे । यी नेताहरुले पनि समुहको हित भन्दा आफ्नो ब्यक्तिगत स्वार्थलाई मात्र केन्द्रविन्दु बनाएर जसरी पनि एमाले एकताको रटान लगाईरहे । आफुहरु एकतामा जोड गरिरहदा माधव नेपाल लत्रिएर आउने नेपाल समुहकै ति नेताहरुको विश्वास थियो । तर माधव नेपाल यसपटक यति चट्टानी शैलीमा अडिग भएकि उनले ओलीसँग कुनै शर्तमा पनि झुक्न चाहेनन् । ओलीले नेपाललाई एक्लै राखेर अरु नेता चोर्ने प्रयास अन्तिम सम्म गरे । तर नेपाल समुहका नेताहरुले ओलीसँग साइनो गाँस्न खोजेपनि नेपाल बिनाको एमाले बनाउने ओलीको कदममा भने सहमत हुन सकेनन् । अझ ओलीको सत्ता बर्हिगमनपछि त झन् त्यो सम्भावना धेरै नै टरेर गयो । त्यसपछि भने ओली नेपाल समुहसँग अब मिलेरै जाने गरी अगाडी बढेको देखिन्छ ।

दोस्रो ओली सरकारमा रहँदा सम्म उनका अगाडी उनकै समुहका नेताहरु पनि उनीसँग उनका कदम विरुद्द विद्रोह बोल्न सक्दैनथे । ओलीको कदम भित्र चित्त नबुझेपनि चुपचाप सहेरै लोभीपापी झै बस्नु उनीहरुको बाध्यता थियो । तर जब ओली सरकारबाट बाहिरिए, उनीहरु ओलीकै कारण पार्टीमा समस्या निम्तेको ठानेर क्रमशः विद्रोह बोल्न थालेका छन् । त्यही क्रममा उनकै साथ रहेका र उनलाई सहयोग गर्न सांसद अपहरण सम्ममा मुछिएकैहरुले पनि ओलीको साथ छोडे । प्रेम आले, किसन श्रेष्ठ सहित ८ नेताले ओलीले सुइको समेत नपाउने गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालको साथ लागेर विश्वासको मत दिए । १२१ सांसद रहेको एमालेमा उनी ९३ हुँदै ८३ मा झरे । यो संख्या अझ भित्रभित्र बढन सक्ने भय ओलीमा रह्न गयो ।

पार्टीभित्रै माधव नेपाल भित्रभित्र बलियो बन्दै जान थालेका थिए । माधव नेपाललाई बढीमा १० सांसदमा सिमित गराउन खोजेका थिए ओलीले । तर नेपाल पछिल्लो दिनमा संसदीय दलमा समेत बलियो बन्दै जान थाले । यसको झट्का पनि ओलीमा पर्न गयो । यसले पनि ओलीलाई अप्ठयारो पारेको थियो । उनले नेपाललाई कारवाहीको प्रस्ताव गर्दा पार्टीभित्रै आफ्नो दायाँबायाँ रहेका नेताले समेत विमती जनाउन सक्ने भय पनि ओलीमा रह्यो । त्यसपछि उनी गलेका हुन सक्ने आशंका पनि हुन थालेको छ ।

तेश्रो, ओलीलाई राष्ट«पतिको चिन्ता लाग्न थालेको छ । आफ्ना असम्वैधनिक जे कदममा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीखन्डी बनेर साथ दिएकी थिइन् । प्रधानमन्त्री देउवालाई प्रधानमन्त्रीका लागि पुग्ने सांसद संख्यामा उनले प्रधानमन्त्री बनाउने आधार देखिनन् । अदालतबाटै उनको त्यो कदम सच्चाउने काम भयो । प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा पनि उनले प्रधानमन्त्री देउवालाई बधाई सम्म पनि दिइनन् । सामान्य नैतिकता पनि उनले देखाइनन् । देउवाले नियुक्त गरेका महान्यायधिवक्ता खम्वबहादुर खातीको सपथमा उनले शितल निवास उपलब्ध गराइनन् । यसले पनि अहिलेको सरकार र राष्ट्रपतिको बीचमा टसल बढेको छ ।

देउवाले विश्वासको मत लिदा आफ्नै समुहका २२ सांसद, तटस्थ बसेका ११ सांसद , दिल्लीमा उपचाररत झलनाथ खनाल सहितका नेता विपक्षमा पुग्ने र अझ केही उतै लागेर राष्ट«पतिसम्म दुई तिहाई बहुमत जुटाएर महाअभियोग लगाउन सक्ने भय ओलीमा देखिएको छ । त्यसपछि भने उनी त्यस्तो अवस्था निम्तन नदिन गलेका हुन सक्छन् । माधव नेपालका लागि अब पार्टी निर्माणका लागि सजिलो छ । उनले आफुलाई आवश्यक पर्ने संख्यामा सरकारले पार्टी बनाउन चाहे अध्यादेश ल्याएर दल विभाजन गराउन सहज हुने वातावरण निर्माण गरिदिन सक्छ । त्यो अवस्था ओलीले झलझल्ती देखेका छन् ।

चौथो, आफु सरकारमा बसेर सबभन्दा अब्बल र राम्रो काम गरेको भ्रम ओलीमा थियो । सरकारमा बस्दा सम्म मान्छेमा त्यो भ्रम हुनु स्वभाविक छ । तर जब सरकारबाट हटेपछि उनले आफ्नो हैसियत गहिरो गरी नाप्न पाएका छन् । त्यसबाट उनी आफनो हैसियतमा कुन अवस्थामा छु भन्ने देख्न पाएका छन् । यसले आउने चुनावमा पार्ने असर र पार्टीभित्रकै नेताहरुको छवि धमिलो बनेको कुरा ओलीले राम्रोसँग बुझेका छन् । त्यसमाथी उनी एक्लो र अरु दलहरु अर्को तिर रहेर निर्माण हुदै गएको गठबन्धन उनले देखेका छन् । त्यसअवस्थाबाट पनि उनी पछि हटेको देखिन्छ ।

पाचौं, केन्द्रदेखि प्रदेश सम्मका सरकारबाट बाहिरिनुपर्ने बाध्यता पनि ओलीका लागि निम्तेको छ । ५ वर्षसम्म आफु बाहेक संसदमा कसैको सरकार नबन्ने भन्दै पटक पटक संसद माथी खेलाँची गर्दै आएका उनको कदम पछि उनका विश्वासपात्र पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारबाट हात धोईसकेका छन् । लुम्बिनीका अर्का अति विश्वास प्राप्त नेता शंकर पोखरेल अल्पमतमै रहेर पनि सरकार चलाईरहेका छन् । त्यो सरकार पनि आज भोलिको अवस्थामा छ । हिजो नेकपा हुदाँ माधव नेपाल सहतिका नेतासमेत मिलेर वाग्मती र प्रदेश १ मा उनको निकट नेताहरुको सरकारमाथी अविश्वास प्रस्ताव आएको थियो । फेरि त्यही अवस्था यी दुई प्रदेशमा दोहोरिने उनले प्रष्ट संकेत पाइसकेका छन् ।

त्यसकारण पनि उनी जताततै सत्ताबाट बाहिरिनु पर्ने अवस्था देखेपछि पछि हटेका हुन् । उनले एक कदम पछि हटेर अर्को षडयन्त्रको खेल खेल्ने सम्भावना उत्तिकै छ । उनी इख लिएर पैचो तिर्ने स्वभावका नेता हुन् । एकपटक नेपाल सहितका नेतालार्इ पार्टी बैठकमा सहभागी गराउने र एमाले मिलेको सन्देश दिएपछि नेपाल समुह छिन्नभिन्न पार्ने रणनीतिमा ओली देखिन्छन् ।त्यही कारण पनि नेपाल समुहले सम्मानजनक एकता नभएसम्म ओलीको विश्वास गर्न नसकिने बताईरहेका छन् ।