दुईवर्षदेखि उत्तरी नाका ठप्प, सीमा क्षेत्रका बासिन्दालाई भोकमरीको चिन्ता

पत्रपत्रिकाबाट

आइतबार, ०३ साउन २०७८, ०८ : ०८
दुईवर्षदेखि उत्तरी नाका ठप्प, सीमा क्षेत्रका बासिन्दालाई भोकमरीको चिन्ता

काठमाडौं । चीनले नेपालका सबै साना नाकाहरू साउन तथा भदौको पहिलो सातामा गरी वर्षमा दुईपटक खोल्ने गथ्र्यो। दुई वर्षअघि साउन, भदौमा एक साताका लागि खोलेर बन्द गरेका नाका अहिलेसम्म खुलेनन्। जसका कारण ताप्लेजुङदेखि दार्चुलासम्मका सीमा क्षेत्रका बासिन्दा विविध समस्या झेलिरहेका छन् ।

मुख्य नाकाहरू पनि निर्वाध सहज नहुँदा व्यापार–व्यवसाय प्रभावित भएका छन्।  वुहानमा कोभिड–१९ का बिरामी भेटिएपछि चीनले औपचारिक रूपमा नाका बन्द गरेको थियो ।

सदरमुकामबाट छ–सात दिनसम्म हिँडेपछि पुगिने सीमावर्ती गाउँहरूमा अहिले बाढीपहिरोका कारण पदमार्ग हिँड्नै नसक्ने गरी भत्किएका छन्। सीमा पनि नखुल्ने, सदरमुकामबाट जाने पदमार्ग पनि बन्द हुँदा उत्तरी सीमा क्षेत्रका बासिन्दामा भोकमरीको चिन्ता छ । 

खाद्यान्न संकट आउन थालेपछि गोरखाका केही उत्तरी गाउँहरूमा हेलिकप्टरबाट धेरथोर चामल ढुवानी गरी भरथेग गर्ने प्रयास गरिएको छ। अन्य जिल्लाका गाउँहरू खाद्य संकटको अवस्थामा पुगेका छन् । 

अझै नाका खुलेन भने के खाएर बाँच्ने ?
ताप्लेजुङ : संखुवासभाको भोटखोला गाउँपालिका–२ का धोर्ची शेर्पाको घरमा खाद्यान्न सकिन लागेको छ। गत पुसमा ताप्लेजुङबाट ४ दिन लगाएर चामल, नुन, तेल ढुवानी गरेका उनीसहित थुदामका २२ परिवारमा खाद्यान्न अभाव हुन थालेको हो। चीनको रिउ बजारमा आश्रित उनीहरू नाका बन्द भएपछि समस्यामा परेका हुन् ।

‘हाम्रो सबै घरायसी सामान खरिद बिक्री गर्ने ठाउँ नै चीनको रिउ बजार हो,’ गाउँबाट एक घण्टा मोबाइल नेटवर्क टिप्ने ठाउँमा पुगेर टेलिफोन सम्पर्कमा आएका धोर्चीले भने, ‘अझै नाका खुलेन भने के खाएर बाँच्ने होला ?’ बर्खायाम पहिरो र हिउँदमा हिमपातका कारण भोटखोला गाउँपालिकाको केन्द्र हटिया र ताप्लेजुङतर्फको बाटोसमेत बन्द हुने भएकाले आफूहरू गाउँमा बन्दी जस्तै भएको उनको भनाइ छ । अन्नपूर्ण पोस्टमा खबर छ ।  

प्रतिक्रिया दिनुहोस