साउन १५ भित्र ३२ लाख खोप नेपाल ल्याइने

रासस

शनिबार, ०२ साउन २०७८, २० : ४६
साउन १५ भित्र ३२ लाख खोप नेपाल ल्याइने

काठमाडौं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरस विरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडवडी जहाजबाट नियमित चार उडानमार्फत ल्याउने मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए । 

गत असार २५ गतेदेखि चीनबाट खरिद गरेको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ साउन) जहाज चीन जाने भएको उहाँले बताए । निगमको वाइडवडी जहाजले यही साउन ६ गतेदेखि तीन उडानमार्फत नियमित खोप ल्याउने छ । यसअघि असार २५ गते आठ लाख खोप चीनबाट आएको थियो । 

कोभिशिल्डको दोस्रो मात्रा छिटै
यस्तै मन्त्रालयले कोभिशिल्ड खोपको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई दोस्रो मात्राको खोप दिने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई दोस्रो मात्रा छिटै नै दिइने बताए । उनले खोप केही दिनमा नै प्राप्त हुने भन्दै खोपको प्रतिक्षा गरिरहेका सबै जेष्ठ नागरिकलाई दोस्रो खोप दिइने बताए । 

उहाँले कोभिशिल्डको दोस्रो मात्राको रुपमा जापान सरकारले उपलब्ध गराउने एस्ट्राजेनिका खोप लगाउने बताउनुभयो । जापानले सरकारले नेपाललाई कोभ्याक्समार्फत १६ लाख खोप उपलब्ध गराउने घोषणा गरेको छ । भारतको सिरम इन्सिच्युट कम्पनीले सरकारले खरिद गरेको कोभिशिल्ड खोप उपलब्ध नगराएपछि ज्येष्ठ नागरिकले खोप लगाउन नपाएका हुन् ।

गत फागुन २३ देखि चैत १० गतेसम्म ६५ वर्ष माथिका उमेर समूहका करिब साढे १४ लाख व्यक्तिलाई ‘कोभिशिल्ड’ को पहिलो मात्रा लगाएको थियो । मन्त्रालयले कोभिशिल्ड र एस्ट्राजेनिका खोप एउटै कम्पनी र एउटै फर्मुलामा बनेकाले लगाउन केही फरक नपर्ने बताए ।

कहाँकहाँबाट आयो कोभ्याक्स 
नेपालका ६० लाख जनसङ्ख्यालाई पुग्ने खोप कोभ्याक्सले उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । सोहीअनुसार अहिले विभिन्न देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइरहेका छन् । अहिलेसम्म भारत, चीन, अमेरिका, जापानलगायत देशले कोभ्याक्समार्फत नेपाललाई खोप उपलब्ध गराइसकेका छन् ।

 सरकारलाई यही असार २८ गते अमेरिकाबाट १५ लाख ३४ हजार ८५० मात्रा सहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग प्राप्त गरेको हो । यसअघि कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड खोप तीन लाख ४८ हजार खोप प्राप्त भएको थियो । 

यस्तै जापान सरकारले कोभ्याक्स सुविधाअन्तर्गत जापानमै उत्पादित कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपको १६ लाख मात्रा नेपाललाई प्रदान गर्ने घोषणा गरेको छ । नेपालमा अहिलेसम्म ६५ लाख ८२ हजार ८५० मात्रा खोप आइसकेको छ ।

यसैगरी स्वास्थ्य सेवा विभागका खोप तथा बालस्वास्थ्य शाखाका प्रमुख डा झलक शर्मा गौतमले कोभ्याक्समार्फत थप खोप आउन थालेको जानकारी दिनुभयो । कोभ्याक्समार्फत तीन लाख ५० हजार खोप आउन थालेको हो । मन्त्रालयले चीन र अमेरिकाले उपलब्ध गराएको खोप प्राथमिकताका आधारमा लगाएको छ । 

चीन र अमेरिकाबाट प्राप्त भएको खोप यही असार २९ देखि साउन १ गतेसम्म लगाइएको थियो । भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूह र जोन्सन एण्ड जोन्सन खोप ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई लगाइएको छ ।

नेपालमा अहिलेसम्म पहिलो मात्रा २७ लाख ६५ हजार ७०९ र दोस्रो मात्रा ११ लाख २० हजार २८२ जनाले लगाइसकेका छन् । सरकारले १८ वर्षभन्दा माथिका कूल दुई करोड २० लाख जनसङ्ख्यालाई निःशुल्क खोप लगाउने लक्ष्य लिएको छ ।