बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न बाबुराम भट्टराईको आग्रह

सफल खबर संवाददाता

विहीबार, ३१ असार २०७८, ११ : ०४
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न बाबुराम भट्टराईको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत पक्षको माग सम्बोधन गर्न आग्रह गरेका छन् । 

बिहीबार एक सार्वजनिक अपील जारी गर्दै डा भट्टराईले  तत्काल वार्ताको माध्यमद्वारा मागहरूको सम्बोधन गर्न सरकारसंग आग्रह गरेका छन् । ‘नेपालकै सबैभन्दा ठूलो र चिकित्सा क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय साख राख्न सफल यो प्रतिष्ठान, सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरूको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुःखद छ’, भट्टराईले अपीलमा भनेका छन्, ‘ विश्वविद्यालयहरू, प्रतिष्ठानहरू तथा अन्य प्राज्ञिक क्षेत्रमा हुने प्रत्येक नियुक्तिहरू स्थापित मापदण्डका अनुरुप तथा कार्यक्षेत्र र कार्य प्रकृतिको मर्यादा कायम गर्ने हैसियतका हुनुपर्छ भन्ने हाम्रो सदैव अडान रहेको छ । यसअनुरूपको नेतृत्वले मात्र संस्थालाई सही दिशामा हाँक्न सक्दछ भन्ने हाम्रो विश्वास छ ।’

प्रतिष्ठानमा रहेको विकृति र विसंगतिहरूको अन्त्य तथा प्रतिष्ठानको पदाधिकारी नियुक्तिलाई राजनीतिक हस्तक्षेप मुक्त राख्दै प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने मागसहित प्रतिष्ठानका शिक्षक, कर्मचारी तथा नागरिक अगुवाहरुले ‘प्रतिष्ठान शुद्धीकरण अभियान’ सञ्चालन गर्दै आएका छन् । 
 

प्रतिक्रिया दिनुहोस