काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औं महाधिवेशनमा फेरि उम्मेदवार बन्ने जनाउँदै तयारीलाई तीव्र बनाइरहँदा संस्थापन इतरका नेताहरू भने ‘लन्च मिटिङ’ मा केन्द्रित बनेका छन्।
संस्थापन पक्षबाट उपसभापति विमलेन्द्र निधि र पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि नेतृत्वका लागि आकांक्षा देखाएपछि केही राहतको महसुस गरेको संस्थापन इतरका नेताहरू साझा उम्मेदवार बनाउनेभन्दा आ–आफ्नो शक्ति देखाउन सक्रिय भएका हुन्।
संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको उम्मेदवार बन्ने बताएका उपसभापति निधिले महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहसहितको लन्च मिटिङ आयोजना गरेपछि कांग्रेसमा यो क्रमले बिस्तारै निरन्तरता पाउन थालेको हो। साझा उम्मेदवार बनाउन छलफल र बहसभन्दा संस्थापन इतरका नेताहरूले आ–आफ्नो दाबी र सहयोग माग्दै एकअर्काका घर पुग्न थालेका छन्। पछिल्ला दिनमा विभिन्न गुटगत भेलामा सहभागी हुन कांग्रेस नेताहरूलाई अहिले भ्याइनभ्याइ छ।
निधि, कोइराला र सिंहले १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफल जारी राखेका बेला सोमबार नेत्री सुजाता कोइरालाले नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितको लन्च मिटिङ आयोजना गरेकी छन्। आफू पनि सभापतिको आकांक्षी रहेको जनाउँदै उनले पौडेल र सिटौलालाई १४औं महाधिवेशनमा मिलेर साझा उम्मेदवार तय गर्न सुझाएकी छन्।
अन्यथा आफू सभापतिको उम्मेदवार बन्ने भन्दै सुजाताले उनीहरूसँग सहयोग मागेकी छन्। ‘तपाईंहरू मिल्ने भए मिल्नुस्। यो बेला सबै मिलेर जाँदा पार्टी जोगाउन सकिन्छ,’ सुजाताले पौडेल र सिटौलालाई भनेकी थिइन्, ‘तपाईंहरू मिल्नुहुन्न भने म सभापतिमा लड्छु।’
अझै तोकिएको समयमा महाधिवेशन हुनेमा संशय रहेको जनाउँदै सुजाताले महाधिवेशनको सुनिश्चितता गर्न सबै लाग्नुपर्नेमा पनि जोड दिएकी छन्। लन्च मिटिङमा सहभागी नेता पौडेलले सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै सबैलाई समेटर अघि बढ्न आफू लागि परेको बताएका थिए। सहभागी पूर्वमहामन्त्री सिटौलाले १३औं महाधिवेशनमा पौडेलको पक्षमा उभिएको समूहले साझा उम्मेदवार बनाउन सके आफू सहयोग गर्न तयार रहेको धारणा राखेको स्रोतको दाबी छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, १५ असार २०७८, ०७ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)