‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

रासस

शुक्रबार, ११ असार २०७८, २० : ४७
‘भेरोसेल’ को दोस्रो मात्रा असार २२ देखि दिइने

काठमाडौँ । सरकारले कोरोना भाइरस सङ्क्रमणविरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा यही असार २२ गतेदेखि ज्येष्ठ नागरिकलाई लगाउने भएको छ ।  

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘भेरोसेल’ खोप पहिलो मात्रा लगाएका ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा लगाइने जनाएको छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले आज सूचना जारी गर्दै ‘भेरोसेल’ को पहिलो मात्रा लगाएका तीन लाख ७० हजार ज्येष्ठ नागरिकलाई  दोस्रो मात्रा खोप लगाइने जानकारी दिए ।

गत जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागारिकलाई खोपको पहिलो मात्रा लगाइएको थियो । यसअघि पहिलो मात्रा लगाएकोलाई समेत दोस्रो मात्राको खोप दिइने छ । 

खोप लगाउनका लागि पहिलो मात्रा लगाइएको कार्ड अनिवार्य देखाउनुपर्ने छ । नेपालमा अहिलेसम्म सात लाख ३१ हजार ६५३ जनाले दोस्रो मात्रा र २५ लाख १९६ जनाले पहिलो मात्राको खोप लगाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस