धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

रासस

आइतबार, ३० जेठ २०७८, ११ : ००
धानको बीउ नपाउँदा अन्नको सङ्कट बढ्ने किसानको चिन्ता

काठमाडौँ । जेठ सकिन लाग्दासमेत धानको बीउ नपाएपछि महोत्तरीका किसान यसपालि अन्नको सङ्कट बढ्ने आशङ्काले पिरोलिएका छन् । बीउको अभावले मुख्य बाली मानिएको धान ठिक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपालि अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका हुन् ।

यसपालि वैशाखी तरकारी कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले बजार पु¥याउन नसकेर बोटमै बुढिनु, चोटिलो बर्खाले लहरे तरकारीका लहरा पहेँलिनु, फलपूmल हावाहुरीले सोत्तर पारेर झार्नु र त्यसपछि धानको बीउ नपाएपछि मन कसरी अड्याउने भन्ने किसानको गुनासो छ ।

जेठ सकिनै लाग्दासम्म धानको बीउ नै नभेटिएपछि यसपालि समयमा ब्याड राख्न र रोपाइँ गर्न नभ्याइने हो कि भन्ने किसानको आशङ्का छ । कोरोना सन्त्रास छल्न जारी निषेधाज्ञाले सार्वजनिक यातायात बन्द भएर आवागमन ठप्प भएको बेला कृषि सामग्रीका बजार नखुल्दा अहिले धानको बीउ नपाएर किसानको पिरोलो बढेको हो । जिल्लामा गत वैशाख २२ गतेदेखि जारी निषेधाज्ञा पटकपटक थपिँदै चौथोपटक थपिएको अवधि जेठ मसान्तमा सकिँदैछ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ शुरु हुने भए पनि अहिलेसम्म धानको बीउको जोहो नै नहुँदा यसपालि ठिक समयमा खेती लाग्न नसक्ने किसानको चिन्ता छ । “जेठ सकिनै लाग्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान रामचन्द्र राय भन्नुहुन्छ, “यसपालि खेतीको सबै तालिका भताभुङ्ग भयो, समयमै धान रोपाइँ गर्न नपाइने पो हो कि भन्ने परिसक्यो ।” मध्य जेठमा धानको बीउ ब्याडमा राखी सक्नुपर्नेमा आफूहरु अझै बीउ नपाएर झोक्राउनुपरेको रायको भनाइ छ ।

जिल्लाको मुख्य बाली धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिलेपहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिकन बीउकै लागि बजारको मुख ताक्नुपरेको किसानको भनाइ छ ।

“हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहितका दर्जनौँ धानका जात हुन्थे”, भङ्गाहा नगरपालिका–९ हरिणमरीका ८० वर्षीय किसान जितन यादव भन्छन, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा धान नपाएर गलफत्ती पर्ने गरेको यहाँका आम किसान बताउँछन् ।

विकासे धान लगाउन थालिकन बर्सेनिजस्तो जात फेरिने गरेको किसानको अनुभव छ । “यो पो राम्रो भन्छन्, अनि त्यही लगाइयो”, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान इस्लाम राइनले भने , “कुन–कुन जातका धान लगाइयो नाम याद छैन, बीउ बजारकै भर पर्नुपर्ने ! यसपालि लकडाउनले बीउ नपाउँदा धानखेती के हुने भन्ने चिन्ता छ ।”

जिल्लामा जिल्ला कृषि विकास कार्यालय हउञ्जेल तिनका मातहतका कृषि केन्द्र र उपकेन्द्रमा कृषि प्राविधिक बस्ने र बेलाबेला खेतीबारे परामर्श लिन पाउने दिन पनि गएका किसानको गुनासो छ । “गाउँमा सिंहदरबार पुगेको कुरामात्र भयो, हाम्रा कुनै स्थानीय तहले कृषि शाखा राम्रो चलाउन सकेनन्”, लगन र मेहनतले राम्रो उत्पादन लिन जिल्लामै कहलिएका भङ्गाहा–४ कै किसान सत्यनारायण यादव भन्छन, “जिल्ला कृषि विकास कार्यालय हुँदा विषयपिच्छेका विज्ञ थिए, अहिले कहाँ हराका होलान् भन्ने लाग्छ, पछिल्लोपटक गाउँमा सिंहदरबार पु¥याउने कुराले कृषि क्षेत्रका संरचना हटाइँदा सबै भताभुङ्ग बढ्यो ।” खेतीपातीबारे बोलाएर रायसल्लाह दिने, हेरिदिने अब पछिल्ला स्थानीय तहको निर्वाचन भएयता कोही नभेटिएका यादव विरक्तिँदै बताए ।

प्रतिक्रिया दिनुहोस