कोरोना कहर ! खाना खानै नपाई मरिने भो ?

पत्रपत्रिकाबाट

विहीबार, २७ जेठ २०७८, ०८ : ०५
कोरोना कहर ! खाना खानै नपाई मरिने भो ?

दाङ । प्यूठानका गंगाबहादुर थापा घोराही–१६ स्थित एक ह्याचरी उद्योगमा काम गर्थे । लामो निषेधाज्ञा हुँदा उद्योगमा नियमित काम नभएपछि उनले घर जान खोजे तर डेढ महिनासम्म काम गरेको तलब पाएनन् । अरू पैसा केही भएन । घोराहीमा बसेर साँझबिहान के खाऔं भन्ने चिन्ता भयो । घरसम्म पुग्ने उपाय नभएपछि बुधबार बिहानै जिल्ला प्रहरी कार्यालय पुगे ।

गुनासो सुनिसकेपछि प्रहरीले तलब दिलाउने प्रयास गर्‍यो तर उद्योग सञ्चालकले महामारीमा काम नभएकाले पैसा दिन नसकिने बताए । ‘यता काम छैन, खाने बस्ने समस्या छ । घर जाऊँ भन्दा भाडा छैन, गाडी चल्दैन । भोकै मर्ने अवस्था आयो,’ थापाले भने, ‘महामारीले भन्दा भोकले मर्ने बेला आयो ।’ रोजगारी त गयो, पहिले काम गरेको पैसा पनि नपाइने स्थिति आएको उनले बताए । ‘न अहिले काम छ, न त पहिले गरेको कामको पैसा नै पाइन्छ । यत्तिकै मर्ने भयौं,’ उनले भने, ‘रोगभन्दा भोकले मर्ने दिन आयो ।’

घोराही–१४ सुकुम्बासी टोलकी कल्सी चौधरीलाई पनि साँझबिहान चुल्हो बाल्न गाह्रो परेको छ । मजदुरी गरेर जीविका चलाउँदै आएकी उनी कामविहीन भएको महिना बितिसक्यो । ‘दिनदिनै काम गरेर गुजारा गर्थ्यौं, कति दिन उधारो खाने रु,’ उनले भनिन्, ‘त्यही पनि पत्याउन छाडे । कोरोनाले के मार्दो हो, खान नपाई मरिने भइयो ।’ घोराहीकै ४४ वर्षीय जुठे घर्ती राहत खोज्दै भौंतारिइरहेका छन् ।

घोराहीकै बुद्धिराम कुमालले राहत माग्दै हिँड्नुपरेको बताए । ‘काम खोजेर पाइँदैन । घरबाट निस्कन मिल्दैन । विभिन्न संघसंस्थाले अलिअलि चामल दिन्छन्, त्यसले एक–दुई दिन टारेको छु,’ उनले भने, ‘अब कसरी बाँच्ने हो, थाहा छैन । गरिबलाई भोक बढी लाग्ने तर खानेकुरा नहुने । गाह्रो छ बाँच्न ।’ लामो समय कोरोना महामारी र निषेधाज्ञा लम्बिँदा जीविका चलाउन कठिन भइसकेको व्यवसायीहरूको गुनासो छ ।

‘अहिले त हामी किन बाँच्यौं होला भन्ने भइसक्यो । ऋण तिर्न नसकेर कता भागौं भन्ने भएको छ,’ घोराहीका यातायात व्यवसायी भरतनाथ योगीले भने, ‘कोरोनाको डर हराइसक्यो । भोक पो बढ्न थाल्यो । कसरी ज्यान पाल्ने रु ऋण कसरी तिर्ने रु’ कोरोनाबाट बाँचे पनि आर्थिक समस्याले गाह्रो भइरहेको उनले बताए । व्यवसायीको स्थिति पनि दयनीय भइसकेको उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंकसिंह बुढाथोकीले बताए । ‘व्यवसायीले माग्न पनि सुहाएन । आयस्रोत छैन,’ उनले भने, ‘दिनदिनै व्यवसाय गरेर जीविका चलाउनेलाई मर्नु न बाँच्नु भएको छ ।’

गत वर्ष स्थानीय तहले राहत वितरणका कार्यक्रम सञ्चालन गरे पनि यसपालि छैन । सबैको ध्यान अस्पतालमा बेड र अक्सिजन पाउने कुरामा केन्द्रित भएपछि भोकाहरू ओझेलमा परेका हुन् । धेरै मानिसहरू भोकभोकै भएपछि राहत वितरणको काम थालिएको नारायणपुर उद्योग वाणिज्य संघका अध्यक्ष अभियान बस्नेतले बताए । ‘गरिबप्रति कसैको ध्यान पुगेको छैन । धेरै मानिस भोकभोकै छन्,’ उनले भने, ‘यस्तो अवस्था देखेपछि हामीले खाद्यान्न वितरण गरिरहेका छौं ।’

खान नपाएकाहरूको संख्या अत्यधिक रहेको घोराहीमा फुड बैंक सञ्चालन गरिरहेकी साजिदा सिद्धिकीले बताइन् । ‘धेरै मानिसलाई साँझबिहानको छाक टार्न समस्या भएको देखेपछि हामीले फुड बैंक स्थापना गरेका छौं । हुनेले दिन्छन्, नहुनेले लैजान्छन्,’ उनले भनिन्, ‘खानेकुरा माग्नेहरूको संख्या अत्यधिक छ । दिनमै सयौं मानिस राहत माग्न आउँछन् । गरिबलाई रोगको भन्दा भोककै चिन्ता बढी छ ।’ कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस