फिफा विश्वकप छनोट

जोर्डनसामु नेपाल फेरि निरीह, ३–० गोलले पराजित

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, ०८ : १५
जोर्डनसामु नेपाल फेरि निरीह, ३–० गोलले पराजित

काठमाडौं । नेपालले फिफा विश्वकप छनोट खेलमा बलियो प्रतिद्वन्द्वी जोर्डनसँग फराकिलो हार बेहोरेको छ। अर्को वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाली छनोट र सन् २०२३ को एसिया कपको दोस्रो चरणको छनोट खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भएको हो। जोर्डनको घरेलु मैदानमा भएको विश्वकप छनोटको पहिलो लेगको खेलमा पनि नेपाल ३–० गोलले पराजित भएको थियो। 

कुवेतको राजधानी कुवेत सिटीमा सोमबार राति भएको खेलमा दुवै टोलीले सुरुवातदेखि नै आक्रामक खेल खेलेका थिए। नेपाली टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आक्रामक खेल खेल्न तीन स्ट्राइकर खेलाएका थिए।

उनले यसअघि चाइनिज ताइपेईविरुद्ध सुरुवाती खेल खेलेको तीन खेलाडी परिवर्तन गरेका थिए। चाइनिज ताइपेईविरुद्ध सुरुवाती–११ मा रहेका आशिष लामा, सुनिल बल र गौतम श्रेष्ठलाई बेन्चमा राख्दै फरवार्ड अभिषेक रिजाल, डिफेन्डर दिनेश राजवंशी र विकास खवासलाई मैदान उतारेका थिए। 

तर, शारीरिक रुपमा बलियो जोर्डनले लगातार नेपालको पोस्ट्मा आक्रमण बुन्दा नेपाली टोली रक्षात्मक खेल खेल्न बाध्य भएको थियो। सुरुवाती केही आक्रमण विफल पारेको नेपालले २४औं मिनेटमा भने गोल खान पुगेको थियो। रोहित चन्दले मुसा अल तामरीलाई फल गरेपछि जोर्डनले पेनाल्टी पाएको थियो। पेनाल्टीमा बाहा फैसलले गोल गर्दै जोर्डनलाई अग्रता दिलाएका थिए।

१–० गोलको अग्रता बनाएपछि पनि जोर्डनले लगातार पोस्ट् आक्रमण गरेको थियो। गोलरक्षक किरण चेम्जोङ बाधक बन्दा जोर्डनले पहिलो हाफमा अग्रता बढाउन भने सकेन। 

पहिलो हाफमा १–० ले पछि परेको नेपालले दोस्रो हाफको सुरुमै गोल खान पुगेको थियो। खेलको ४९औं मिनेटमा बाहा फैजलले फ्रिकिकमा गोल गर्दै जोर्डनलाई २–० अग्रता दिलाएका थिए। उनको लामो फ्रिकिकलाई गोलरक्षक किरणले नियाल्न पनि सकेनन्। जोर्डनले ६७ औं मिनेटमा ३–० को अग्रता बनाएको थियो । याजन अबु अल अरबले हेड गोल गर्दै जोर्डनलाई अगाडि बढाएका थिए। पहिलो हाफको तुलनामा दोस्रो हाफमा नेपालले केही राम्रा अवसर बनाए पनि गोल गर्न भने सकेन। 

प्रतिक्रिया दिनुहोस