विदेशमा कल गर्दा एनसेलको शुल्कमा ६ गुणा बृद्धि

पत्रपत्रिकाबाट

शुक्रबार, २१ जेठ २०७८, ०८ : ४७
विदेशमा कल गर्दा एनसेलको शुल्कमा ६ गुणा बृद्धि

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक एनसेलको नम्बरबाट विभिन्न १८ वटा देशमा लाग्ने शुल्क ६ गुणा बढेको छ । यी देशका विभिन्न नम्बरमा एनसेलको नम्बरबाट सोझै फोन गर्दा ५ रुपैयाँ शुल्क लाग्दै आएकोमा अब ३० रुपैयाँ लाग्नेछ । 

नेपाल दूरसञ्चार प्राधिकरणको सञ्चालक समितिले एनसेलको नम्बरबाट १९ वटा देशमा कल गर्दा लाग्ने शुल्कमा ६ गुणाले वृद्धि गर्दै शुल्क स्वीकृत गरेको हो । अन्य सेवा प्रदायकको शुल्क सरह एनसेलको शुल्क स्वीकृत गरिएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । ‘नेपाल टेलिकम र स्मार्टको नम्बरबाट यी देशमा कल गर्दा ३० रुपैयाँ हाराहारीमा शुल्क लाग्छ,’ उनले भने, ‘एनसेलबाट पनि सोहीसरह शुल्क स्वीकृतिको माग आएकाले अनुमति दिइएको हो ।

एनसेलले अनुमतिपत्र लिने बेलामा यी देशमा कल गर्दा लाग्ने शुल्क कम लिने प्रस्ताव गरेको थियो । अन्य सेवा प्रदायकको तुलनामा आफ्नो शुल्क कम भएको भन्दै एनसेलले शुल्क बढाउन प्राधिकरणलाई पत्र लेखेको खनालले बताए । इटाली, माल्टा, जर्मनी, ताजकिस्तान, जोर्डन, थाइल्यान्ड, लाट्भिया, लेबनान, स्लोभेनिया, माल्दिभ्स, बेल्जियम, इस्टोनिया, क्रोएसिया, फिनल्यान्ड, नेदरल्यान्ड्स, बुल्गेरिया, सिरिया र लिथोनियामा यसअघि एनसेलको नम्बरबाट फोन गर्दा प्रतिमिनेट ४ रुपैयाँ ९९ पैसा लाग्दै आएको थियो ।

यी मुलुकमा कल गर्दा अब प्रतिमिनेट ३० रुपैयाँ लाग्नेछ । साइप्रसमा पनि यसअघि प्रतिमिनेट कल गर्दा १५ रुपैयाँ लाग्दै आएकामा यसलाई पनि ३० रुपैयाँ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस