एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : भानुभक्त ढकाल

सफल खबर संवाददाता

सोमबार, १७ जेठ २०७८, १३ : १२
एमाले र जसपालाई विभाजन गराउन कांग्रेसले प्रधानमन्त्रीमा दाबी गर्यो : भानुभक्त ढकाल

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकालले एमाले र जसपालाई विभाजन गराउनका लागि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा दाबी गरेको आरोप लगाएका छन् ।

मन्त्री ढकालले नेकपा(एमाले) र जनता समाजवादी पार्टीलाई विभाजन गराउने मनशायका साथ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका हुन । दलीय व्यवस्थामा अरु दलका सांसदको समर्थन छ भन्नु गैर लोकतान्त्रिक भएको भन्दै उहाँले कांग्रेसले अरु पार्टीको आन्तरिक मामिलामा भाँजो हाल्ने काम गरेको आरोप समेत लगाए ।

उनले भने – ‘आगामी आम निर्वाचनमा जसपा र नेकपा(एमाले)लाई विभाजनमा लानको निम्ति आफु प्रधानमन्त्री हुने सर्तमा नै यि पार्टीहरु विभाजन गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अरु पार्टीको आन्तरिक जीवन र मामिलामा हात हाल्ने, भाँजो सिर्जना गर्ने र पार्टी विभाजित गर्ने मनशायका साथ नेपाली कांग्रेसजस्तो आफुलाई बहुलवादी लोकतन्त्रको लागि नेतृत्व गरेर आएको छु भन्ने पार्टी अरुको घर झगडा गराएर यो खालको काममा लाग्नेकुरा एकदम गलत कुरा हो । दलीय व्यवस्थामा अरु दलको समर्थन मलाई छ भन्ने हाक्काहाक्की कसरी नेपाली कांग्रेसका नेतृत्वले भन्न सक्छ ? यो भन्दा गैर लोकतान्त्रिक कुरा अरु केही हुनसक्छ जस्तो मलाई लाग्दैन ।’

मन्त्री ढकालले संविधानको धारा ७६ को उपधारा ५ को निर्दलीय कोणबाट व्याख्या गर्नु नहुने बताए । देशमा बहुदलीय शासन प्रणाली रहेको उल्लेख गर्दै यस प्रणालीभित्र निर्दलीय आचरण अनुरुपको राजनीति गर्न खोज्नु प्रतिगमन भएको उनले बताए। उनले भने – ‘धारा ७६(५)को जुन दाबीको कुरा आयो, त्यसलाई मान्छेहरुले निरपेक्ष र निर्दलीय कोणबाट व्याख्या गर्न खोजेका छन् ।

बहुदलीय शासन प्रणाली हाम्रो देशमा छ । यसले गर्दा दलीय शासन प्रणाली भित्र निर्दलीय आचरण र आकांक्षा अनुरुपको राजनीति फर्काउँछु भनेर जसले नेतृत्व गर्छ । त्यसले अग्रगमनको कुरा गर्नु नै वास्तवमा प्रतिगनमनको साधनमा चढेर अग्रगमनको कुरा गर्ने कुरा यो आफैँमा विरोधाभाषपूर्ण कुरा हो ।’मन्त्री ढकालले ताजा जनादेशमा जानुको विकल्प नभएको बताए । सरकार स्वस्थ, मर्यादित, अनुशासित, पारदर्शि र भयरहित निर्वाचन गराउन अगाडी बढ्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस