कोरोना संक्रमित वा संक्रमणमुक्त भएकाले फोक्सोलाई यसरी राखौ स्वास्थ्य

सफल खबर संवाददाता

आइतबार, १६ जेठ २०७८, १२ : ४६
कोरोना संक्रमित वा संक्रमणमुक्त भएकाले फोक्सोलाई यसरी राखौ स्वास्थ्य

कोरोनाको दोस्रो लहरका नयाँ नयाँ भेरियन्टको मूख्य निसाना फोक्सो बनेको छ । संक्रमित अधिकांशलाई निमोनिया भएको छ । त्यसो त अधिकांश संक्रमितलाई आईसियू तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको चिकित्सकहरु बताउँछन् ।

चिकित्सकहरुका अनुसार मानिसको सानो गल्ती र हेलचेक्राइँले गर्दा फोक्सोमा कोरोना अथवा अन्य कुनै भाइरल इन्फेक्सनले छिटो आक्रमण गर्छ । त्यसैले फोक्सोलाई स्वस्थ राख्न के गर्ने के नगर्ने ? कोरोना संक्रमण निको भएका व्यक्तिहरुमा भएको फोक्सोको इन्फेक्सनलाई कसरी कम गर्ने ? लगायतका विषयमा श्वासप्रश्वास तथा क्रिटिकल केयर विशेषज्ञ डा.रक्षा पाण्डेको सुझाव यस्तो छ :

कोरोना संक्रमितले फोक्सोलाई कसरी बचाउने ?

यतिबेला कोरोना संक्रमित मध्ये ८० प्रतिशत व्यक्तिहरु होम आइसोलेसनमा बसेरै निको भएका छन् । केही संक्रमितलाई भने श्वासप्रश्वासमा समस्या भएर अस्पताल नै भर्ना हुनु परेको छ । कोरोना भाइरसले फोक्सोमा निमोनिया गराउँछ । जसलाई भाइरल निमोनिया भनिन्छ । यसले फोक्सोमा गर्ने असरहरुबाट यसरी बच्न सकिन्छ :

– कोरोना संक्रमण भएपछि निमोनिया भयो भनेर एन्टिबायोटिक खाने लहर चलेको छ त्यो गलत हो । त्यसैले यसको उपचारतर्फ लाग्नुपर्छ ।

— निमोनिया हँुदैमा तुरुन्त अस्पताल भर्ना भइहाल्नु पर्ने पनि हुँदैन । सामान्य निमोनिया छ भने घरमा अक्सिजन नाप्ने र अक्सिजन लेबल ठीक छ र श्वास फेर्न गाह्रो भएको छैन भने आत्तिनु पर्दैन ।

— अक्सिजनको मात्रा घटेर ९४ भन्दा कम भएको छ भने चिकित्सकको सल्लाह अनुसार स्टेरोइड तथा अन्य औषधीको सेवन गर्न सकिन्छ ।

— समस्या अझै बढ्दै गयो अक्सिजनको कमी भयो र सास फेर्न गाह्रो भयो भने चिकित्सकको सल्लाह लिनु पर्छ र अस्पताल भर्ना हुनुपर्छ । त्यहाँ बिरामीको अवस्था अनुसारको उपचार गरिन्छ ।

— कोरोना संक्रमण भएर घरमा आइसोलेसनमा बसेका व्यक्तिहरुले प्रसस्त मात्रामा झोल पदार्थहरु र इम्युनिटि पावर बढाउने खानाहरु खाने ।

— निषेधाज्ञाले गर्दा बाहिर जान नपाए पनि घरमै श्वासप्रश्वास सम्बन्धि योग तथा अन्य व्यायामहरु गर्ने ।

— अक्सिजनको कमी भएमा घोप्टो परेर सुत्ने, यसलाई शरीरमा अक्सिजनको कमी हुन नदिने प्रकृतिक उपाय मानिन्छ ।

— मद्यपान तथा धूम्रपानले फोक्सोमा नराम्रो असर गर्छ त्यसैले त्यो बानी छ भने छोड्नुपर्छ ।

— दमका बिरामीहरु होम आइसोलसनमा बसेका छन् भने आफ्नो नियमित औषधीहरु सेवन गर्न छोड्न हुँदैन ।

— अहिले मानिसहरुले भिटामीन सि, डी को कमी हुन नदिन सि,डि ट्याब्लेटहरुको प्रयोग गर्ने गर्छन् । तर, त्यसको
प्राकृतिक रुप ताजा फलफुलहरु हो । त्यसैले भिटामिन, मिनरल भएका फलफुलहरु प्रसस्त मात्रामा सेवन गर्नु पर्छ ।

— पोषीलो खाना र पानी प्रसस्त मात्रामा पिउने ।

— धेरै चिल्लो र मसला प्रयोग भएका खानेकुराहरु नखाने ।

संक्रमणमुक्त भएकाले कसरी जोगिने ?

कोरोना संक्रमण भएर आईसियुमा भर्ना भएका व्यक्तिहरुमा निको भईसकेपछि पनि केहि समय फोक्सो तथा श्वसप्रश्वासमा समस्या देखिन सक्छ । आईसियूमा भर्ना भएर फर्किएका बिरामीहरुमा एक प्रकारको डर हुन्छ । पहिले फोक्सोको रोग नभएका व्यक्तिहरुमा पनि कोरोना संक्रमण पछि एक हप्ता देखि एक महिना सम्म अक्सिजनको कमी हुने तथा सास फेर्न अफ्ठेरो हुने जस्ता समस्याहरु देखिन सक्छ । त्यस्ता व्यक्तिले यसरी फोक्सोको हेरचाह गर्न सक्छन् :

— कोरोना सक्रमण निको भएर अस्पतालबाट घर फर्केका व्यक्तिहरुले श्वासप्रश्वास सम्बन्धि व्यायामहरु गर्ने ।

— कोरोना संक्रमणमुक्त भएका बिरामीहरुको माशंपेशीहरु एकदम कमजोर भएको हुन्छ । त्यसैले त्यस्ता बिरामीहरुले फिजियोथेरापी गर्नु पर्छ ।

— श्वासप्रश्वास सम्बन्धि व्यायामको साथसाथै अन्य व्यायामहरु पनि गर्नु पर्छ ।

— हिँडडुल गर्दा थाकियो भनेर हिँडडुल गर्न छोड्नु हुँदैन बिस्तारै–बिस्तारै हिँड्ने प्रयास गर्नु पर्छ ।

— आत्मबल एकदम बलियो बनाउने मलाई कोरोना त निको भइसकेको छ । अन्य केही समस्याहरु पनि बिस्तारै
निको हुन्छ भन्ने सकारात्मक सोच राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस