काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधर अग्रगामी शक्तिहरुलाई एकजुट भई प्रतिगामी प्रवृत्ति विरुद्ध संघर्षमा उत्रन आग्रह गरेका छन् ।
गौतम बुद्धको २५६५ औँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले पुरातनवादी विचार र चेतनाका विरुद्ध गौतम बुद्धले गरेको विद्रोह जसरी प्रतिगमनकारी सोच, चिन्तन र प्रवृत्तिका विरुद्ध संघर्षमा उत्रिनु परिवर्तनकामी सम्पूर्ण शक्तिका सामु आज एक मात्र विकल्प रहेको उल्लेख गरेका छन् ।
उनले सबैको अस्तित्वको सम्मान गर्दै शान्तिपूर्ण सहअस्तित्वको भावनाले नै मानव समुदायमा नयाँ र वैज्ञानिक चेतनाको अभिवृद्धि हुने तर दम्भ र अहङ्कारले मानिसमा विनाश निम्त्याउँने र ‘त्यसको ज्वलन्त उदाहरण वर्तमान राजनीतिमा भएकाले हामीले भोग्दै आएका छौँ’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन्।
प्रचण्डले गौतम बुद्धले नेपाली भूमिमा जन्म लिएर विश्व शान्ति र अहिंसाका लागि पुर्याएको योगदान नेपालीहरुका लागि गर्वको कुरा रहेको बताउँदै बुद्धका उपदेश लोकप्रिय हुनुका साथै विश्व शान्ति र मानव कल्याणका निम्ति आज पनि उत्तिकै शास्वत रहेको बताएका छन्।
प्रचण्डले आजै परेको किरात राई, याक्खा, सुनुवार, लिम्बु समुदायको प्रमुख चाड उभौली पर्व तथा चण्डीपूर्णिमाका अवसरमा पनि शुभकामना व्यक्त गरेका छन्। कोरोना भाइरसको महामारीमा स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पूर्ण पालना गरी चाडपर्व मनाउन र आफू र आफ्नो समाजलाई सुरक्षित राख्न भूमिका निर्वाह गर्न प्रचण्डले आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, ०९ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?
नेकपा संयोजक ‘प्रचण्ड’ अस्पताल भर्ना
'संविधानको मूल मर्मबाट पछि हट्ने छुट कसैलाई छैन' : प्रचण्ड
बालेन सरकारका गतिविधिले व्यवस्था टिकाउने चुनौती थपियो : प्रचण्ड
प्रदेशमा सर्वदलीय सहमति भए मात्र नेकपा सरकारमा जाने: ‘प्रचण्ड’