ओलीलाई प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट हुँदाहुँदै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक : कांग्रेस सभापति देउवा

सफल खबर संवाददाता

शनिबार, ०८ जेठ २०७८, १३ : ०२
ओलीलाई प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट हुँदाहुँदै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक : कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संविधान जस्तो सार्वजनिक दस्तावेजलाई निजी सम्पत्तिका रुपमा आफू अनुकूल प्रयोग गरिरहेको बताएका छन् ।

सभापति देउवाले प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा शनिबार विज्ञप्ति  मार्फत जारी गर्दै यस्तो बताएका हुन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’

देउवाले यो सरकारले निरन्तर रुपमा अलोकतान्त्रिक गतिविधि गर्दै आएको बताउँदै त्यस कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता समेत गरेका छन् । ‘ यो सरकार गठनपछि निरन्तर रुपले गैर संवैधानिक र अलोकतान्त्रिक गतिविधि गर्दै लोकतान्त्रिक मूल्य, मान्यताको अवमूल्यन, विधि र पद्धतिको वेवास्ता र संसदीय पद्धतिको खिल्ली उडाउने काम भएको छ ।’ उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक, अलोकतान्त्रिक कार्यका विरुद्ध राजनैतिक र न्यायिक लडाई लड्ने दृढ प्रतिवद्धता व्यक्त गर्दछु ।’


 

प्रतिक्रिया दिनुहोस