बादलको पराजयले एमालेमा ल्याएको तरङ्ग !

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १८ : ०३
बादलको पराजयले एमालेमा ल्याएको तरङ्ग !

काठमाडौँ । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको छ । उनलाई एमालेका जनप्रतिनिधिबाटै मत आएन । खासगरी एमाले माधव नेपाल पक्षका जनप्रतिनिधिले बादललाई मत दिएनन्, जसका कारण उनी पछारिए । 

बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटा विजयी भए । एमाले माधव नेपाल पक्षका जनप्रतिनिधिको खास मत खाएर देवकोटा विजयी भएका हु्न् । जसपा, माओवादी केन्द्र र नेपाली कांग्रेसको सम्पूर्ण मत देवकोटाले पाएको देखिन्छ ।  मतभार अनुसार बादलले ४०१४ मत ल्याउँदा खिमलालले ५०८८ मत ल्याए। बादल पराजय हुनुमा उनकै पार्टीको प्रमुख हात छ । एमालेमा रहेका माधव समूहले बादललाई हराएका हुन् । बादलको पराजयसँगै एमालेभित्र तरङ्ग पैदा भएको छ । 

परराष्ट्रमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले एमालेमा रहेर एमालेका उम्मेदवारलाई भोट नहाल्ने जनप्रतिनिधिलाई क्षमा गर्न नसकिने बताइसकेका छन् । एमाले एकताको लागि माधव र ओली पक्षबीचका नेताहरुको कार्यदल बनेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले लगाएको ह्विप माधव नेपाल समूहले उल्लंघन गरेको छ । एमाले नेता ज्ञवालीले एकतालाई नै असर पार्ने गरी माधव समूहले भुल गरेको प्रतिक्रिया दिएका छन् । 

स्थानीय तहमा देवकोटाले १२८ मत पाउँदा बादलले १०३ मत मात्रै पाए । स्थानीय तहका माधव नेपाल समूहले बादललाई भोट नदिएको प्रष्ट देखिन्छ । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका थिए। खिमलालले पाएको १२८ मतको मतभार २३०४ हुन्छ । बादलले पाएको मतभार १८५४ हुन्छ । 

त्यस्तै, प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ । यहाँ पनि माधव नेपाल समूहले बादललाई भोट दिएका छैनन् । 

बागमती प्रदेशमा एमालेकै देवकोटालाई विपक्षी गठबन्धनको तर्फबाट उम्मेदवार बनाउन माधव नेपालले भूमिका बलियो थियो। ओलीले पछिल्लो समय नेपाललगायत ४ नेताको कारबाही फुकुवा गर्दै वार्ता प्रक्रिया चाल्न कार्यदल बने पनि  मतदानमा नेपाल समूहले बादललाई नसघाएको प्रष्ट देखिन्छ । आज बस्ने भनिएको एमाले कार्यदलको बैठक स्थगित भएको छ । बादलको पराजयले पार्टी एकीकरणमै संकट ल्याउने अवस्था छ । 

प्रधानमन्त्री केपी ओलीले बुधबार मौन अवधिको उलंघन गर्दै बादललाई जिताउन अपील गरे पनि काम लागेन । प्रधानमन्त्री ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका थिए । माधव नेपाल समूहले ह्विप उल्लघंन गरेकाले पाटी एकीकरणमा असर पर्नसक्ने अवस्था पनि देखिन्छ । ओली समूह अब कसरी अगाडि बढ्छ ? भन्ने प्रश्नमा ओली पक्षका एक नेता भन्छन्, ‘पार्टीको ह्विप उल्लंघन हुनु गम्भीर हो, पार्टीको थप बैठकले निर्णय गर्दै जाला, तर यसलाई सामान्य रुपमा पार्टीले लिँदैन ।’ 

प्रतिक्रिया दिनुहोस