माधव नेपाल पक्षले बादललाई भोट नहाले पार्टी एकता खल्बलिने

सफल खबर संवाददाता

विहीबार, ०६ जेठ २०७८, १४ : २९
माधव नेपाल पक्षले बादललाई भोट नहाले पार्टी एकता खल्बलिने

काठमाडौँ । बागमती प्रदेशको राष्ट्रिय सभा सदस्य पदका लागि यतिबेला मतदान कार्य भइरहेको छ । एक सदस्य पदका लागि हुने उपचुनावमा दुबै उम्मेदवार एमालेका छन् ।

उम्मेदवार बनेका गृहमन्त्री रामबहादुर थापा बादल केपी ओली पक्षका हुन् भने अर्का उम्मेदवार डा खिमलाल देवकोटा  माधव नेपाल पक्षका हुन् । यतिबेला माधव पक्ष र ओली पक्षको वार्ता चलिरहेको छ । डा खिमलाललाई प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र माधव नेपाल पक्षको साथ रहेको छ । गृहमन्त्री बादललाई जिताउन प्रधानमन्त्री केपी ओलीले निर्वाचन आचारसंहिता उल्लंघन गरी भोट मागेका थिए । उनले पार्टी ह्विपसमेत लगाएका छन् । 

ओलीले लगाएको पार्टी ह्विपप्रति माधवकुमार नेपाल पक्षले निको मानेन । माधव नेपालले उपनिर्वाचनमा स्वविवेक प्रयोग गर्न पाउने बताइरहेका छन् । 
एमाले ओली पक्षका एक नेताले पार्टीको ह्विपभन्दा बाहिर गएर मतदान गरे कारबाही हुने बताए । ती नेताले भने, ‘हालका गृहमन्त्री रामबहादुर थापा बादललाई जिताउन एमालेमा ह्विप जारी भएको छ, एमालेका कसैको मत बादलबाहेक अन्यत्र जाँदैन भन्ने हाम्रो बुझाइ छ, तर बादलबाहेक अन्यत्र गए कारबाही हुनसक्छ ।’

उनले माधव नेपाल पक्ष पनि एकतामा आइसकेको हुनाले पार्टीको उम्मेदवार बादललाई भोट हाल्नुपर्ने बताए । उनले भने, ‘माधव नेपाल पक्षबाट बादलले भोट नपाए पार्टी एकता नै खल्बलिने सम्भावना रहन्छ, एमालले लगाएको ह्विपभन्दा कोही बाहिर जान पाउँदैन । नेता नेपालले बिहीबार बाग्मती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा स्वविवेक प्रयोग हुनुपर्ने अडान राखेका थिए। नेपाल पक्षले आफू पक्षीय उम्मेदावार डा खिमलाल देवकोटालाई दिएमा त्यसको असर पार्टी एकताको प्रयासमा पर्ने स्पष्ट संकेत देखिएको ती नेताले बताए । अध्यक्ष ओलीले उपनिर्वाचनको अघिल्लो दिन बुधबार दुई पृष्ट लामो अपिल जारी गर्दै बादललाई अनिर्वाय रुपमा मत दिन पार्टीलाई निर्देशन दिएका हुनाले एमालले बादलबाहेक अर्को उम्मेदवार नदेखेको उनको भनाइ छ । 

बादल आफ्ना लागि मत माग्न घरमै आएका बेला नेता माधव नेपालले उपनिर्वाचनमा स्वविवेक प्रयोग गनुपर्ने धारणा राखेका थिए। ओली निकट एक स्थायी कमिटी सदस्यका अनुसार नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गर्छन् या गर्दैन भन्नेबारे पहिला परीक्षण गर्ने र त्यसका आधारमा पार्टी एकता प्रयास अघि बढाउने तयारी उनीहरुले गरेका छन्। ओली निकट एक स्थायी कमिटी सदस्यले भने ,‘ पार्टीको ह्वीप उल्लंघन भएमा के गर्नेरु नभएमा के गर्ने त्यसबारे समिक्षा हुने छ। अनि मात्रै एकताका लागि प्रयास अघि बढ्ने छ’ ती नेताले भने, ‘ह्विप उल्लंघन भए पार्टी एकता अघि बढ्न सक्दैन ।’ 

आज राष्ट्रियसभाको उपनिर्वाचनमा दिउँसो २ बजेसम्म १२ जनाले मात्रै भोट हाल्न बाँकी छ । भोट दिन बाँकी रहेकामा प्रदेशसभाका ६ जना र स्थानीय जनप्रतिनिधितर्फ ६ जना छन् । मतदान गर्ने समय दिउँसो तीन बजेसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस