पहाडतिर बढ्यो कोरोना संक्रमण, अधिकांशले परीक्षणै नै गराउँदैनन्

पत्रपत्रिकाबाट

विहीबार, ०६ जेठ २०७८, ०८ : ०८
पहाडतिर बढ्यो कोरोना संक्रमण, अधिकांशले परीक्षणै नै गराउँदैनन्

काठमाडौँ । गुल्मीको पूर्तिघाट माविका शिक्षक तकबहादुर सुप्राईका छोरा जीवनको गत वैशाख १८ मा बिहेभोज थियो । डेढ वर्षअघि बिहे भए पनि मगर परम्पराअनुसार ढोगभेट अहिले फुकाएकाले कालीगण्डकी–५ लम्करास्थित घरमै भोज गरिएको थियो । त्यसको चार दिनपछि ५१ वर्षीय तकबहादुरलाई रुघाखोकी र ज्वरो आयो ।

अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भयो । मृत्युपछि गरिएको पीसीआर परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखियो । केही दिनअघि गाउँकै ५७ वर्षीया महिलाको पनि संक्रमणले ज्यान लियो । त्यसपछि गत आइतबार लम्कराका ९१ जनाको स्वाब परीक्षण गर्दा ७७ जनामा संक्रमण पुष्टि भयो । लम्करामा ६४ घरधुरी छन् । गाउँमा अहिले रुघाखोकी र ज्वरोका बिरामी नभएको घर छैन । ‘घरमै बसिरहेका सबै ७७ संक्रमितको स्वास्थ्य सामान्य छ,’ फोक्सिङ स्वास्थ्यचौकी प्रमुख दलबहादुर थापाले भने, ‘अहिले सिटामोलको अभाव छ ।’

यातायातको सहज पहुँच नभएको यो गाउँमा औषधि मात्र होइन नुन र अन्य खाद्यान्नसमेतको अभाव रहेको बताउँछन् वडाध्यक्ष थम्मनसिंह आले । ‘अहिले खाद्यान्न र औषधि जुटाउने प्रयास भइरहेको छ,’ उनले भने । संक्रमण फैलिएपछि गाउँमा आउजाउ बन्द गरिएको छ । संक्रमितको उपचार र लक्षण देखिएका अन्य शंकास्पद व्यक्तिको पीसीआर परीक्षणमा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष देवबहादुर थापाले बताए ।

अर्घाखाँचीका प्रायः गाउँमा पनि अवस्था उस्तै छ । पाणिनि–४ का इन्द्रमणि घिमिरेको परिवार एक सातादेखि ज्वरोले थलिएको छ । स्थानीय मैदान स्वास्थ्यचौकीबाट औषधि ल्याएर खाए पनि पीसीआर परीक्षण गराएका छैनन् । ‘ज्वरो र रुघाखोकी छ, शरीर पनि दुख्छ,’ उनले भने, ‘अस्पतालमा सोध्दा बेड छैन भन्छन् । त्यहाँ गएर के गर्नु रु यहाँ त आफ्नै घरमा बस्न पाइएको छ, भनेको बेलामा खान पाइएको छ ।’

मैदान स्वास्थ्यचौकी प्रमुख जगदीश घिमिरेले घरैपिच्छे ज्वरो र रुघाखोकीका बिरामी रहेको बताए । ‘परीक्षण गर्न किट अभाव छ,’ उनले भने, ‘अलि बढी लक्षण देखिएकाको पीसीआर परीक्षण हुन्छ । लक्षण देखिएका सबैको परीक्षण गर्ने हो भने धेरैलाई पोजिटिभ देखिन्छ । तर सबैको गर्न सकिएको छैन ।’

मालारानी–३ का लीलामणि पोखरेल १० दिनदेखि घरमै स्वास्थ्यकर्मीले दिएको औषधि र जडीबुटी खाएर बसेका छन् । ‘ज्वरो र रुघाखोकी पहिला पनि आउँथ्यो तर यति सकस हुन्थेन,’ उनले भने, ‘पीसीआर गरेको छैन, सामान्य छु । दुखाइ बढेमा अस्पताल जानुपर्ला ।’ मालारानी–४ की ५८ वर्षीया महिलालाई ज्वरो र रुघाखोकीले च्यापेपछि अर्घाखाँची अस्पताल लगियो । भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने भएपछि मंगलबार हेलिकप्टरमार्फत काठमाडौं लगियो । तर अस्पताल पुर्‍याएको एक घण्टामै उनको निधन भयो । कान्तिपुर दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस