लकडाउनमा रेष्टुरेन्ट खोल्दा संचालकलाई जरिवाना सहितको कारवाही

सफल खबर संवाददाता

मंगलबार, ०४ जेठ २०७८, ०९ : ११
लकडाउनमा रेष्टुरेन्ट खोल्दा संचालकलाई जरिवाना सहितको कारवाही

रूपन्देही । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन उल्लघंन गर्ने बुटवलका तिनजना व्यवसायी कारवाहीमा परेका छन् ।  निषेधाज्ञाको अवज्ञा गरी रेस्टुरेण्ट सन्चालन गर्दा सन्चालक र ग्राहक दुवैले जरीवानासहितको कारवाही भोगेका छन् ।

बुटवल उपमहानगरपालिका वडा नं ९ मिलनचोकस्थित सेराज रेष्टुरेण्ट खोलेर अनावश्यक भिडभाड गर्ने सञ्चालकसहित ३ जनालाई प्रहरीले पक्राउ गरेर जरीवाना तिराएको हो । ग्राहकहरुलाई भने प्रहरीले सम्झाई बुझाई छाडिदिएको हो ।

पक्राउ पर्नेमा गुल्मीको रेसुङ्गा नगरपालिका–८ स्थायी घर बुटवल उपमहानगरपालिका–४ वस्ने ४४ वर्षीय होटल सन्चालक शेर बहादुर भण्डारी, स्याङ्जा चापाकोट नगरपालिका– १० स्थायी घर भई बुटवल उपमहानगरपालिका–११ वस्न ४० वर्षीय होटल सन्चालक शम्भु भट्टराई र उक्त होटलका बारटेण्डर रुकुम मगर छन् ।

संक्रामक रोग ऐन २०२० को दफा ३ को उपदफा २ बमोजिम आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाइएकोमा जिल्ला प्रशासनले उनीहरुलाई १ महिना कैद वा सो बराबरको जरिवाना अनुरुप जनही ९ हजार १०० जरिवाना तोकिएको थियो । जरिवाना बाफतको २७ हजार ३ सय जरीवाना तिरेर उनीहरुरिहा भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस