मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य

पत्रपत्रिकाबाट

सोमबार, ०३ जेठ २०७८, ०८ : ३१
मतदान गर्न पिसिआर रिपोर्ट अनिवार्य

काठमाडौं । राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न ७२ घण्टा अघिको पिसिआर रिपोर्ट आवश्यक पर्ने भएको छ। निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गर्दै उपनिर्वाचनका मतदातालाई मतदानअघि पिसिआर रिपोर्ट अनिवार्य गरेको हो।  

आयोगका अनुसार यो स्वास्थ्य मापदण्ड जेठ ६ गते बागमती प्रदेश र जेठ १६ गते लुम्बिनी प्रदेशमा हुने राष्ट्रियसभाको उपनिर्वाचनमा लागु हुनेछ। आयोगले स्वीकृत गरेको स्वास्थ्य मापदण्डअनुसार मतदान स्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ डेक्स स्थापना गरिनेछ।

‘मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि ७२ घण्टा अवधिभित्रको पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ,’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने ‘कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकलाई अनिवार्य रुपमा पिपिई प्रयोग गर्नुपर्ने व्यवस्था मिलाइसकिएको छ।’

मापदण्ड अनुसार मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी पर्यवेक्षक, उम्मेद्धार र मतदातालाई कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्नेछ। मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका सामग्रीहरू र मतदान सम्पन्न भएपछि मतपेटीका सिल गर्नुअघि र गणनास्थलमा मतपेटीका खोल्नुअघि मतपेटीका निसंक्रमण गर्नुपर्नेछ।

मतदानस्थलमा अनिवार्य रुपमा स्वास्थ्य उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा व्यवस्था गरिने आयोगले जनाएको छ। नागरिक दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस