एमाले विवादमा बादलको ‘इन्ट्री’ले खैलाबैला ! पार्टी एकतामै प्रश्न

सफल खबर संवाददाता

आइतबार, ०२ जेठ २०७८, ११ : २१
एमाले विवादमा बादलको ‘इन्ट्री’ले खैलाबैला ! पार्टी एकतामै प्रश्न

काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न बसेको छलफलमा माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका रामबहादुर थापा बादलको इन्ट्रीले खैलाबैला मच्चिएको छ । 

सिंहदरबारमा शुक्रबार साँझ नेकपा एमालेका ओली पक्ष र माधव नेपाल पक्षबीच भएको वार्तामा बादल सहभागी भएका थिए। आज हुने वार्तामा पनि बादल सहभागी हुने ओली पक्षका एक नेताले बताए ।  वार्ताको मूल एजेण्डा एमालेलाई २०७५ जेठ २ अघिको अवस्थामा फर्काउने भन्ने हो । यो एजेण्डामा केपी ओली सहमत भएर नै एमाले माधव नेपाल पक्ष वार्तामा सहभागी भएका हुन् । तर सो वार्तामा बादल प्रवेश भएपछि माधव नेपाल पक्ष थप सशंकित भएको छ । 

वार्तामा बादल सहभागी भएपछि माधन नेपाल पक्षका केन्द्रीय सदस्यबीच खैलाबैला मच्चिएको थियो । पछिल्लो समय बादल प्रधानमन्त्री केपी ओलीको विश्वासपात्र बनेका छन् । सोही कारण बादललाई वार्तामा ओलीले नै लिएर गएका हुन् । बादल सहभागी भएपछि माधव नेपाल पक्ष रुष्ट बनेको छ ।एमालेलाई जेठ २ मा फर्काउँदा गृहमन्त्री ‘बादल’ एमालेको केन्द्रीय कमिटीमा समेत नरहेका अवस्था छ ।

बादल आफू एमालेको शीर्ष नेतामा दरिन चाहन्छन्, जसका कारण उनी ओलीको विश्वास पात्र बनेर वार्तामा सहभागी भएका हुन् । ओलीले एमालेको आन्तरिक छलफलमा पूर्वमाओवादी नेता बादललाई पनि हाजिर गराएपछि माधव नेपाललाई केन्द्रीय सदस्यले दबाब दिँदै भनेका थिए, ‘कमरेड धेरै आंशका जन्मेको छ, बादलको प्रवेश शंकास्पद छ, सतर्क रहनूस्, जेठ २ बाट पछि नहट्नुहोस् । 

पछिल्लो समय बादलको प्रवेशलाई लिएर खनाल–नेपाल पक्ष ओलीप्रति सशंकित बनेको छ । एमाले विवादमा कुनै सरोकार र जानकारी नै नभएका थापालाई छलफलमा राखेपछि नेता नेपालले यसबारे खुलेरै ओलीलाई प्रश्न गरेका थिए । त्यतिबेला ओली मौन बसेका थिए । 

‘बादलको प्रवेश अनुचित छ, विवाद समाधान भएपछि जिम्मेवारी दिने भन्ने कुरा छुट्टै हो, बादल प्रवेशले आशंका जन्माएको छ’ माधव पक्षका एक नेताले भने । ती नेताका अनुसार एमाले विवाद मिलाउने कुरामा उहाँको प्रवेश र प्रयोग हुनुहुँदैन । उनले कार्यदलमा बादललाई राख्न नहुने र ओलीले राखे त्यसलाई नमान्ने तर्क गरे । 

२०७७ फागुन २८ गते प्रधानमन्त्री ओलीले आफूनिकट केन्द्रीय सदस्यहरूको बैठक राखेर एमाले प्रवेश गरेका बादलसहितका पूर्वमाओवादी नेताहरूलाई पार्टीमा समावेश गरेका थिए। तर त्यो दिनको निर्णयलाई खारेज गर्नुपर्ने माधव पक्षको अडान छ ।  केपी ओली पक्षका एक नेताका अनुसार एमालेभित्रको विवाद मिलाउने कार्यदलमा प्रधानमन्त्रीका तर्फबाट बादल रहनेछन् ।

ती नेताले भने, ‘कार्यदलमा दुबैतर्फका नेता रहन्छन्, कसलाई राख्ने नराख्ने अर्को पक्षले भन्ने होइन, बादल ओलीको तर्फबाट कार्यदलमा रहन्छन् ।’ पात्रको विषयलाई लिएर चर्चा परिचर्चा गर्नु बेकार भएको उनी बताउँछन् । 


 

प्रतिक्रिया दिनुहोस