पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले स्पष्टीकरण सोधेको छ । गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको राजमोले नयाँ सरकार गठनका लागि कांग्रेस, माओवादी र जसपा गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको थियो ।
पार्टीको निर्णयलाई उल्लंघन गर्दै संसदीय दलका नेतासमेत रहेका थापाले सत्तारुढ दल एमालेलाई नै साथ दिने भएपछि राजमोले उनलाई स्पष्टीकरण सोधेको प्रदेश अध्यक्ष शंकर बरालले जानकारी दिए ।
उनका अनुसार सांसद थापाले पार्टी केन्द्रीय कार्यालयलाई स्पष्टीकरण दिन लागेका छन् । पार्टीले उनलाई एक घण्टाको समय दिएको छ । ‘पार्टीभित्र नियम, विधि, विधान हुन्छ,’ उनले भने, ‘नियममा नचल्ने जोकोहीलाई पनि पार्टीले कारबाही गर्छ । जनमोर्चाले अहिलेसम्म बेइमान गरेको थिएन । पहिलोपटक ठूलो दुर्घटना भयो ।’
‘राजमो बोलेपछि गर्छ’ भन्ने जुन अडान थियो त्यसमा दाग लागेको उनको भनाइ थियो । पार्टीको निर्देशनअनुसार सचेतक पियारी थापाले सोमबार हस्ताक्षर गर्न ह्रवीप जारी गरेकी थिइन् । पियारी र अर्का सांसद खिमविक्रम शाहीले मंगलबार नै हस्ताक्षर गरिसकेका छन् ।गण्डकीमा निर्णायक भूमिकामा रहेका राजमोका ३ सांसद छन् । उनीहरुको सहयोग जता हुन्छ उतै सरकार गठन हुने अवस्था रहेको छ । गठबन्धनलाई सहयोग गर्नका लागि राजमोका केन्द्रीय महासचिव मनोज भट्टको नेतृत्वमा केन्द्रीय नेताहरु यतिबेला पोखरामा छन् । भट्टकै नेतृत्वमा दुई दिन बसेको वैठकमा सांसद थापाले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
अविश्वासको प्रस्ताव संसद्बाट सामना गर्नुअघि नै वैशाख २६ मा मुख्यमन्त्रीको पदबाट पृथ्वीसुव्वा गुरुङले राजीनामा दिएका थिए ।मुख्यमन्त्रीको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई सोहीदिन ३ दिनको समय दिएकी थिइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ बैशाख २०७८, १४ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१४ निर्माण कम्पनीसँग स्पष्टीकरण माग
जनमत पार्टीका दुई नेतासँग स्पष्टीकरण माग
सुदूरपश्चिम सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण
सन्तोषजनक काम नगर्ने ११ निर्माण कम्पनीलाई सोधियो स्पष्टीकरण
कार्यालयमा अनुपस्थित भेटिएका मेडिकल अधिकृतसहित ९ स्वास्थ्यकर्मीलाई तीन दिने स्पष्टीकरण