विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०८३, १५ : ३१
विश्वप्रकाश र कृष्ण सिटौलाबीच झापामा वान टु वान वार्ता

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र पार्टीका इतर समूहका नेता कृष्णप्रसाद सिटौलाबीच झापामा भेटवार्ता भएको छ ।

काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँका अनुसार धुलाबारीमा भएको भेटका क्रममा दुवै नेताले केही समय व्यक्तिगत रूपमा छलफल गरेका थिए । भेटमा पार्टीभित्र देखिएका असहमतिहरूलाई संवाद र समझदारीका माध्यमबाट समाधान गर्नुपर्ने धारणा व्यक्त भएको बताइएको छ ।

आन्तरिक मतभेदलाई अलग-अलग समूह बनाएर अघि बढाउनुभन्दा छलफल, सहकार्य र संगठनात्मक एकतामार्फत पार्टीलाई सुदृढ बनाउन सकिने विषयमा नेताहरूबीच समान धारणा बनेको हुमागाईँले जानकारी दिए ।

नेपाली लोकतान्त्रिक आन्दोलनका अगुवा याम भण्डारीको निधनप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना व्यक्त गर्न शर्मा र सिटौला झापा पुगेका थिए । दुवै नेता झापाकै स्थायी बासिन्दा हुन् ।

काँग्रेसभित्र नेतृत्व र संगठनसम्बन्धी विषयमा देखिएको विवादका बीच भएको यो भेटलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ । विशेष महाधिवेशनपछि गगन थापा नेतृत्वमा आएपछि पार्टीभित्र आन्तरिक बहस थप तीव्र बनेको छ ।

प्रतिक्रिया दिनुहोस