विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन विभागको निर्देशन

सफल खबर संवाददाता

मंगलबार, ०२ असार २०८३, १५ : २६
विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन विभागको निर्देशन

काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संस्थाहरूलाई विदेश पठाइएका नेपाली कामदारको विस्तृत अभिलेख उपलब्ध गराउन वैदेशिक रोजगार विभागले निर्देशन दिएको छ ।

विभागले सम्बन्धित मेनपावर कम्पनीहरूलाई पत्र पठाउँदै २०८२ चैत १ गतेदेखि हालसम्म संस्थागत श्रम स्वीकृतिका आधारमा विदेश गएका कामदारको विवरण अनिवार्य रूपमा पेश गर्न भनेको हो ।

वैदेशिक रोजगारीसम्बन्धी कानुनी व्यवस्थाअनुसार कामदारलाई स्वदेशकै विमानस्थल प्रयोग गरी वैदेशिक गन्तव्यमा पठाउनुपर्ने प्रावधान रहेको उल्लेख गर्दै विभागले त्यसको कार्यान्वयन अवस्थाको विवरण संकलन गर्न लागेको जनाएको छ ।

निर्देशनअनुसार प्रत्येक कामदारको नाम, राहदानी विवरण, श्रम स्वीकृति प्राप्त भएको मिति, प्रस्थान मिति, प्रयोग गरिएको विमानस्थल तथा गन्तव्य मुलुकसहितका विवरण तोकिएको ढाँचामा बुझाउनुपर्नेछ ।

विभागले मागेको तथ्यांकले वैदेशिक रोजगारीमा जाने श्रमिकको प्रस्थान प्रक्रिया, कानुनी पालना र संस्थागत श्रम स्वीकृतिको अनुगमनलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस