काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग

सफल खबर संवाददाता

बुधबार, १६ बैशाख २०८३, १९ : ४२
काँग्रेसद्वारा तीन मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण माग

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात जना प्रदेश सांसदसँग स्पष्टीकरण माग गरेको छ।

बुधबार बसेको समितिको बैठकले प्रतिनिधि सभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको आरोपमा उनीहरूमाथि अनुशासनात्मक प्रक्रिया अघि बढाउँदै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्पष्टीकरण सोधिएकामध्ये लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन्। यस्तै, प्रदेश सांसदहरू राजु खनाल, जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय पनि सूचीमा परेका छन्।

काँग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार सम्बन्धित सबैलाई पाँच दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिइएको छ।

पार्टी अनुशासन उल्लंघन भएको ठहर गर्दै आवश्यक विवरणका आधारमा थप निर्णय गरिने समितिले जनाएको छ।

प्रतिक्रिया दिनुहोस