४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि

पत्रपत्रिकाबाट

बुधबार, २९ बैशाख २०७८, ०८ : २५
४५ दिन भेन्टिलेटरमा बसेर फर्किएका हरि

काठमाडौं । हरि रिमाललाई भेटेपछि आफन्त र साथीभाइ अचम्म मान्छन् । धेरैले चमत्कारै भएको बताउँछन् । रूपन्देहीको बुटवल–११ देवीनगरका ३९ वर्षीय रिमाललाई गत मंसिर २१ गते कामबाट फर्किएपछि ज्वरो आयो ।

श्रीमती अरुणाले नजिकैको पसलबाट औषधि किनेर खुवाइन् । त्यसले सुधार देखिएन । खोकी सुरु भयो । चार दिनपछि कोरोना आशंकामा स्वाब परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल पुगे । साँझ रिपोर्ट पोजिटिभ आयो ।

संक्रमण पत्ता लागेपछि सावधानी अपनाएर घरमै आइसोलेसनमा बसे । त्यसको तीन दिनपछि श्वासप्रश्वासमा समस्या देखियो । ‘आत्तिएर लुम्बिनी प्रादेशिक अस्पताल गएँ,’ रिमालले भने, ‘त्यहाँ शय्या छैन भन्ने जवाफ सुन्नेबित्तिकै बेहोस भएँ ।’ श्रीमती र भाइले त्यसै राति भैरहवाको भीम अस्पताल पुर्‍याए । त्यहाँ आईसीयू बेड पाएपछि केही राहत मिल्यो । भीममा तीन दिन राखे पनि अवस्था ज्युँकात्युँ थियो ।

त्यसपछि श्रीमती अरुणाले काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल लैजाने निधो गरिन् । भीम अस्पतालबाट टेकु पुर्‍याउँदासम्म हरि अन्जान थिए । टेकु पुर्‍याएर उपचार थालेपछि उनलाई स्ट्रोक ९प्यारालाइसिस० देखियो । शुक्रराजमा उपचार सम्भव नभएकाले चिकित्सकले वीर अस्पताल जान सल्लाह दिएको अरुणाले बताइन् । ‘टेकुमा चार दिन उपचार गरेपछि वीरमा पुगियो,’ उनले भनिन्, ‘डाक्टरले बाँच्ने सम्भावना कम छ भनिरहेका थिए । तर मनले बचाउन सकिन्छ जस्तो लागिरहेको थियो ।’ नाबालक दुई छोरा छाडेर अरुणा भाइ र आमासँगै काठमाडौं पुगेकी थिइन् ।

वीर अस्पताल पुर्‍याएपछि हरिलाई भेन्टिलेटरमा राखेर उपचार थालियो । परिवारले उनलाई देख्न पाएनन् । अस्पताल परिसरमा दिनभर बस्ने, औषधि ल्याउने, चिकित्सक राउन्डमा आउँदा कस्तो छ भनेर हालखबर बुझ्ने गर्न थाले । ‘४० दिन पुग्दासम्म अवस्था नाजुक छ, घर लैजाने भए निकालिदिन्छौं भनिरहेका थिए,’ उनले भनिन्, ‘हामीले आस मारेनौं ।’ धैर्यताले काम गर्‍यो ।

४३ औं दिनमा चिकित्सक र नर्सले सुधार देखिन थालेको बताए । ‘४५ औं दिनमा होस खुल्यो,’ अरुणाले भनिन्, ‘सबै अचम्म परे । चिकित्सक र नर्स पनि चमत्कार भएको भन्दै रमाए ।’ कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस