खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा

सफल खबर संवाददाता

आइतबार, २६ बैशाख २०७८, १४ : २९
खनाल-नेपाल समूहका स्थायी कमिटी सदस्यहरु छलफलमा

काठमाडौँ । नेकपा एमालेको झलनाथ खनाल र माधवकुमार नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको छलफलमा जुटेका छन् । कोभिड १९ महामारीका कारण नेता नेपालले भर्चुअल माध्यमबाट स्थायी कमिटी सदस्यहरुसँग समूह–समूहमा छलफल गरिरहेको उनका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार विश्वासको मत लिँदैछन् । त्यसअघि नेपाल समूह छलफलमा जुटेको हो ।२ जेठ, २०७५ को अबस्थामा पार्टीलाई फर्काउन ओली तयार नभए उनले विश्वासको मत लिनुअघि नै नेपाल समूहका सांसदहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । तर, पार्टीलाई जेठ २ कै अवस्थामा फर्काउन तयार भए प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने नेताहरुले बताएका छन् ।

त्यसै विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिए । यद्यपि नेपाल समूहका सांसदले राजीनामा नदिएर विश्वासको मत दिए पनि ओलीलाई विश्वासको मतसंख्या पुग्दैन । संसद्‍मा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

यसअघि ओली नेतृत्वको सरकारको पक्षमा देखिएको जनता समाजवादी पार्टीको एउटा पक्षलेसमेत प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने बताइसकेको छ । कांग्रेस र माओवादी केन्द्रले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस